
०५ असार २०७६, काठमाडौं
नेपालमा प्रत्येक दिन बालबालिकाहरु र महिलाहरु माथि हुने हिंसाका घटनाहरु बढेको हामीले बिभिन्न संचारमाध्यमहरु र अन्य माध्यमहरुबाट सुनेका छौं ।

यिनै हिंसा, दुर्व्यवहार, शोषण र असमानताको अन्त्यको लागि भने देवचुलीका किशोरीहरु स्वयमले बिभिन्न तालिमहरु सञ्चालन गरी समुदायका र विद्यालयका किशोरीहरुलाई जानकारी प्रदान गर्न थालेका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालद्वारा कन्नालन स्विजरल्याण्डको सहयोगमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका किशोरी साथि शिक्षकहरुले देवचुलीका सवै सामुदायिक विद्यालय, नीजि विद्यालय, जनप्रतिनिधीहरु र अन्य सरोकारवालाहरुलाई हिंसा, द्वन्द, दुर्व्यवहार, शोषण र असमानता अन्त्यका बारेमा कार्यक्रमहरु सञ्चालन गर्दै गरेको कुरा किशोरी सशक्तिकरण कार्यक्रमका कार्यक्रम अधिकृत सविता पंगेनीले बताए ।

विभिन्न विषयहरुको प्रशिक्षक प्रशिक्षण तालिमहरु नगरका ३० जना किशोरीहरुलाई प्रदान पश्चात उनीहरुले आफुले सिकेका ज्ञानहरु समुदाय र विद्यालयमा प्रदान गर्ने गरेको र यसको लागि समन्वयको रुपमा विद्यालय प्रशासन, वडा कार्यालय, आमा समुह, टोल सुधार समिति, बाल क्लव र अन्य सरोकारवाला निकायहरुले समेत सहयोग गर्ने गरेका छन् ।

आज देवचुली १ मा अवस्थित नेपाल माध्यमिक विद्यालयका करिव ३० जना किशोर किशोरीहरुलाई सो को बारेमा जानकारीहरु प्रदान गरिएको कुरा साथी शिक्षक रितिका पोख्रेलले बताए ।

स्वयम किशोरीहद्वारा नै संचालन गरिने भएकोले समेत उनीहरुलाई अझै धेरै खुलेर कुरा गर्न सजिलो हुने भएकोले समेत यसको विशेष महत्व रहेको नेपाल माविका शिक्षक दिपक सुवेदीले बताए ।

आजको कार्यक्रममा हिंसा, द्वन्द, यसको कारणहरु, बच्ने उपायहरु, सुरक्षित र असुरक्षित स्थान, हिंसा हुन सक्ने अवस्थाहरु, द्वन्दको समाधानको उपायहरु, किशोरीको शसक्तिकरण आदी जस्ता विषयहरुमा छलफल गरिएको थियो ।





