चैनपुरमा खानेपानी योजनाको उद्घाटन, पानी बोक्न घण्टौं हिड्नुपर्ने सास्तीबाट मुक्ति



२७ जेठ २०७६, काठमाडौं

खानेपानी मन्त्री बिना मगरले धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकाको चैनपुरमा सम्पन्न भएको चैनपुर खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

सोमबार मन्त्री मगरले धादिङको सदरमुकाम धादिङबेसीबाट १९ किलोमिटर उत्तरमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । उक्त खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री मगरले चैनपुरबासीले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गरिन् ।

आयोजनाको उद्घाटन गर्दै मन्त्री मगरले भनिन्, ुहेर्दा सानो देखिए पनि यसले निकै रणनीतिक महत्व बोकेको छ ।  आयोजना बन्नुपूर्व यहाँका महिलाको प्रत्येक बिहान पानी बोक्न मै बित्थ्यो । अब त्यो परिस्थितिको अन्त्य भएको छ । हामीले शुद्ध पानी मात्र पाएका छैनौं, पानी बोक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिको समय खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य गरेका छौं ।

‘हामी तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई खानेपानी पुर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौं । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘खानेपानीको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी मूख्यत महिलाकै काँधमा हुन्छ । पानी बोक्न समय खर्चिदा महिलाहरुले अरु काममा समय दिन सक्नुभएको छैन । यो बाध्यताको अन्त्य गरेर मात्र समृद्ध नेपाल बनाउन सकिन्छ, हामी तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई शुद्ध खानेपानी र्पुयाउने लक्ष्यका साथ अघि बढिरहेका छौं ।’

‘महिला सबल भए, महिला आत्मनिर्भर भए मात्र समाज र देश समृद्ध बन्छ । महिलाहरु घरायसी काममा मात्र अल्झिदा अन्य उत्पादनमूलक काममा समय दिन भ्याएका छैनन्, यो बाध्यता मैले राम्रोसँग बुझेको छु । तपाईहरुको समस्यालाई आफ्नै समस्या ठानेर काम गरिरहेको छु र गर्नेछुु मन्त्री मगरले थपिन, ‘संविधानले खानेपानीलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । त्यसको कार्यान्वयनका लागि मन्त्रालय गम्भीर रुपमा लागिरहेको छ ।’

विश्व बैंक र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा संचालित उक्त आयोजना सम्पन्न भएपछि  करिब १ हजार जनसंख्या लाभान्वित हुने भएका छन् ।

यस आयोजनामा ४ वटा इन्टेक, ६ वटा ट्याङ्की, ४ ठाउँमा पम्प हाउस र २ ठाउँमा पानी वितरण केन्द्र छन् । यस आयोजना अन्तर्गत १ सय ६१ घरमा मिटर सहितको धारा जडान गरिएको छ ।

फोकस नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको यो आयोजना वि.सं. २०७१ बाट प्रारम्भ भएको हो । १ करोड ३४ लाख ४२ हजार छत्तीस रुपैयाँको लागतमा सम्पन्न उक्त आयोजनाबाट चैनपुरका १६१ घरधुरी लाभान्वित भएका छन् ।

आयोजनामा ४ वटा इन्टेक, १२८ घनमिटरका दरले ६ वटा ट्याङ्की, ४ वटा पम्प हाउस र २ वटा पानी बितरण केन्द्र रहेका छन् । आयोजनाले उत्तरी धादिङका हजारौं नागरिक लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्खुलीले बताए ।

कार्यक्रममा धादिङका सङ्घीय सांसदहरु गुरु बुर्लाकोटी, खेमप्रसाद लोहनी, विश्व बैंकका नेपाल प्रबन्धक फारिस हदाद जेरबोस, फण्ड बोर्डका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्