शत प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी पुर्याउन संकल्प गरेका छौं : खानेपानी मन्त्री



२५ जेठ २०७६, काठमाडौं

खानेपानी मन्त्री बिना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन मन्त्रालय संकल्प सहित अघि बढेको बताएकी छिन् ।

नेपाल नगरपालिका संघले शनिबार काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताएकी हुन् ।

मन्त्री मगरले सबै जनतालाई खानेपानीको पहुँच पुर्याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंल्याईन् । आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्ष भित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्याउने लक्ष्य रहेपनि सबैसँगको सहकार्यमा उक्त लक्ष्य पुरा गर्न सकिने उनको भनाई रहेको छ ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले भनिन्, ‘एकातिर सबै जनतालाई खानेपानी पुर्याउनुपर्ने चुनौती छ भने अर्काेतिर पूर्ण सरसफाईको कार्यक्रमलाई पनि संगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पुरा हुन सक्दैन । बढ्दो जनसंख्या र शहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गईरहेको छ । सरसफाई अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदै छौं ।’

आउँदो आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको उनले जानकारी दिईन् ।  कार्यक्रममा मन्त्री मगरले “हामी दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रतिबद्ध छौं, तपाईं नि ?” भन्ने अभियानलाई साथ दिंदै हस्ताक्षर गरेकी थिईन् ।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख  अशोक कुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाईका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गरेका थिए । नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनैपनि स्थानीय निकाय सफा नभएको गुनासो गरे । खानेपानीका आयोजनाहरु संचालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्