
२४ जेठ २०७६, दिपक शर्मा/नवलपुर
पछिल्लो समय किशोरकिशोरीहरु र अन्य व्यक्तिहरु लागुपदार्थ, धुम्रपान र मधपानको दुर्व्यसनमा लागेको बिभिन्न तथ्याँकहरुबाट हामीले थाहा पाएका छौं । यसको धेरै असर र प्रभाव पनि बालबालिकाहरुमा र किशोरकिशोरीहरुमा परेको छ ।

लागुपर्दार्थ दुर्व्यसन विरुद्ध कावासोती नगरपालिका वडा नं. १२ का बालबालिकाहरु भने सचेतनामूलक र्याली र अन्य कार्यक्रम गरी न्यूनिकरणमा लाग्न थालेका छन् ।

कावासोती नगरपालिका वडा नं. १२ मा रहेको शान्ति निकुञ्ज मावि बाल क्लबको आयोजना तथा कावासोती नगरपालिका वडा नं. १२ को सहयोगमा बृहत सचेतनामूलक र्याली र घरदैलो कार्यक्रम आज सम्पन्न भएको छ ।

कावासोती नगरपालिका वडा नंं. १२ मा रहेको ३ सामुदायिक विद्यालयहरु र १ नीजि विद्यालयका बालबालिकाहरु, शिक्षकहरु, जनप्रतिनिधीहरु र अन्य सरोकारवालाहरु गरी करिव ४०० जनाको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको कुरा कावासोती नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष खेमप्रसाद काफ्लेले बताए ।

कावासोती नगरपालिकाले बालमैत्री नगरको रुपमा कार्यहरु गरेको र यसको लागि वडा नं. १२ मा समेत यसको अभियानलाई सहयोग गर्नको लागि बाल क्लवका पदाधिकारीहरुलाई यसको बारेमा प्रशिक्षण कार्यक्रम पश्चात कार्यक्रमको तय भएको र आज आयोजना गरिएको कुरा वडास्तरीय बाल सञ्जाल वडा नं. १२ का अध्यक्ष निशा लम्सालले बताईन् ।
कार्यक्रममा बालबालिकाहरु बर्तमानका साझेदार भविष्यका कर्णधार हुन, बालमैत्री हाम्रो चाहना हो, लागूपदार्थ दुर्व्यसन नगरौं, खुल्ला रुपमा धुम्रपान र मद्यपानको बेचबिखन नगरौं, बालबालिकाको अधिकार संरक्षण गरौं भन्ने स्लोगनहरु भएको प्लेकार्ड र नाराहरु समेत लगाएका थिए ।





