शैक्षिक सामग्रीले ल्यायो अनाथ असहाय बालबालिकामा खुशीयाली



१२ जेठ २०७६, बेझाड

रामपुर नगरपालिका– ७ बस्ने १४ वर्षका रेशम सुनार बुबाआमाको मृत्यु भएपछि आफन्तको सहारामा बस्दै आउनुभएको छ । दुबै अभिभावक गुमाउनुको पीडा त छ नै, पठनपाठनमा पनि उत्तिकै समस्या झेल्नु परेको छ । सुनार आधारभूत माविमा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई पढेर ठूलो मान्छे बन्ने रहर छ तर सहयोगी मनको खाँचो पनि उत्तिकै छ ।

सुनारलाई पठनपाठनमा हौसला बढाउन रामपुर नगरपालिका–७ को कार्यालयले विभिन्न शैक्षिक सामग्री सहयोग गरेपछि ठूलो खुशी मिलेको छ । “पढाइमा लगानी गर्ने आफन्त कोही पनि छैन, बुबा आमाको मृत्यु भएपछि ठूलो बुबाको सहारामा बसिरहेको छु, पठनपाठनमा शैक्षिक सामग्री पाएपछि पढाइमा झन् हौसला मिलेको छ” उहाँले भन्नुभयो ।

उहाँलाई कापी, कलम, स्कुल झोलालगायतका सामग्री वडाले सहयोग गरेको छ । सुनारले आफ्नो पढाइमा यसरी नै सहयोगी हात अगाडि बढाइदिन अनुरोध गर्नुभएको छ । “पढाइमा सहयोग पाए भने ठूलो मान्छे बनेर आमा बुबाको सपना साकार पार्नेछु” उहाँले भन्नुभयो ।

सोही विद्यालयमा कक्षा ८ मा पढ्ने सरस्वती नेपाली पनि आमाको मृत्यु र बुबा धन कमाउन विदेश गएपछि अहिले आफन्तको साथमा बसोवास गर्दै आउनुभएको छ । नेपालीलाई पनि पढाइमा निकै समस्या छ । “साथमा न आमा न बुबा, आफन्तीको घरमा बसिरहेकी छु, कापी कलम चाहियो भने सहयोग गर्ने कोही छैनन्, यस्तो अवस्थामा शैक्षिक सामग्री पाएपछि खुशी लागेको छ” नेपालीले भन्नुभयो ।

सुनार र नेपाली जस्ता यहाँका ६५ अनाथ असहाय बालबालिकालाई विभिन्न शैक्षिक सामग्री प्रदान गरेपछि उनीहरुमा खुशीयाली मात्र नभई पढाइमा ठूलो उत्साह मिलेको छ । विजय प्राथमिक विद्यालय कक्षा ६ मा पढ्ने मनिता मल्लले जन्मदिने अभिभावक नभए पनि आफूलाई सहयोग गर्ने धेरै अभिभावक पाएको बताउनुभयो ।

अभिभावकको साहरा नपाएका वडाभित्र सञ्चालित आधारभूत मावि, विजय प्रावि, संयुक्त प्रावि र अकला प्राविका गरी ६५ विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो । “शिक्षाको पहुँचबाट कुनै पनि असहाय अनाथ बालबालिका टाढा नरहुन्, शैक्षिक सामग्रीको अभावकै कारण विद्यालय बीचमै छाड्ने अवस्था नआओस् भने उनीहरुलाई सामग्री वितरण गरेका हौँ” उहाँले भन्नुभयो ।

यस वडाले गत वर्ष पनि अनाथ तथा असहाय बालबालिकालाई विभिन्न सामग्री प्रदान गरेको थियो । अभिभावकको सहारा नपाएका बालबालिकालाई यस कार्यक्रमले पढाइमा सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्