एशियाको उत्कृष्ठ तीन सयको सूचीमा त्रिभुवन विश्वविद्यालय



२९ बैशाख २०७६, काठमाडौं

बेलायतस्थित द टाइम्स् हाइयर एजुकेशनले सार्बजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण गर्दा त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा सूचीकृत भएको छ ।

उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेखमा गरिएका साइटेशन, विश्वविद्यालयभित्र अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या लगायत मुख्य सूचकहरुलाई आधार मानी सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्ककका आधारमा विश्वविद्यालयहरुको मुल्याङ्कन गरेको हो ।

त्रिभुवन विश्वविद्यालय तीन सयमा २५१ औं स्थानमा सूचीकृत भएको हो । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको थियो ।

यसअघि गतवर्ष यहि संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मुल्याङ्कनमा विश्वका उत्कृष्ट हजारमा ८०१ औं विश्वविद्यालयहरुको सूचीभित्र त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्