
२७ बैशाख २०७६, काठमाडौं
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका आन्दोलनरत नर्सहरुको मागमा ऐक्यबद्धता जनाउन दुई जना नर्स अनसन बस्ने भएका छन् ।
नर्सहरुको मागमा ऐक्यबद्धता जनाउन दुई नर्सहरु जिता बराल र डिकी शेर्पा अनसन बस्न लागेका हुन् ।
नेपाल नर्सिङ संघको आजीवन सदस्य रहेकी पोखराकी नर्स जिता बराल २ बजेदेखि लाजिम्पाटस्थित नर्सिङ संघको भवनमा अनसन बसेकी छिन् । त्यस्तै अर्की नर्स डिकी शेर्पा ६ बजेदेखि मानव अंग प्रत्यारोपण केन्द्रमै अनसनमा बस्ने भएकी छन् ।
माग पुरा नभएसम्म पानी नखाई अनसन बस्ने नर्स जिताले बताएकी छिन् । १६ दिनसम्म कसैले पनि वास्ता गरेका छैनन्, यसरी कत्ति दिनसम्म अन्यायमा बस्ने भनेर अनसन बस्ने निर्णय गरेको’ उनले बताएकी छिन् ।
काम र अनुभव हेरेर बढुवा गनुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गनुपर्ने जस्ता माग राखेर केन्द्रका नर्सहरु आन्दोलनमा होमिएका छन् ।
आन्दोलनरत नर्सहरुले गत शुक्रबार स्वास्थ्य मन्त्रालयमा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठलाई घेराउ गरी समस्याको समाधान गर्न पहल गरेका थिए ।





