
२२ बैशाख २०७६, काठमाडौं
सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्रका पाँच सामुदायिक विद्यालयलाई नजिकका विद्यालयसँग गाभेको छ । विद्यालयको गुणस्तर वृद्धि गर्न नगर शिक्षा समितिले विद्यार्थी नभएका र न्यून विद्यार्थी भएका पाँच विद्यालयलाई नजिकका विद्यालयमा गाभेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले कम विद्यार्थी भएका नगरपालिकाका वडा नं १ को उपयोगी आधारभूत विद्यालयलाई सिरुटार माध्यामिक विद्यालयमा र वडा नं ३ को बालकोट आधारभूत विद्यालयलाई गणेश आधारभूत विद्यालयमा गाभेको उहाँले जानकारी दिनुभयो । त्यस्तै वडा नं ७ को भीम आधारभूत विद्यालयलाई नजिकको ज्योति माविमा र जनविकास आधारभूत विद्यालयलाई भैरवी आधारभूत विद्यालयमा गाभेको छ ।
वडा नं १० को नवज्योति आधारभूत विद्यालयलाई देउजागाउँ आधारभूत विद्यालयमा गाभिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने अभियानस्वरुप ती विद्यालय गाभिएको उहाँले बताउनुभयो । विद्यालय गाभिएपछि ती विद्यालयमा रहेका ५५ शिक्षकको नगरपालिकाले सरुवा एवं पदस्थापन गरेको छ ।
नगरपालिकाले १७ शिक्षकको सरुवा गरेको र गाभिएका विद्यालयमा कार्यरत ३२ शिक्षकको अन्य विद्यालयमा पदस्थापन गरेको उहाँले जानकारी दिनुभयो । सरुवा एवं पदस्थापन भएकामा प्रावि दरबन्दीका ४५, निमाविका चार, मावि तहका दुई र चार बालविकास केन्द्रका शिक्षक रहेका छन् । विद्यालय गाभिएपछि नगरपालिका क्षेत्रमा ३४सामुदायिक विद्यालय कायम भएका र जसमध्ये दुईमा कक्षा–१२ सम्मको पढाई हुने गरेको छ ।





