केरलाका स्कूले विद्यार्थी नेपालमा



२० बैशाख २०७६, चितवन

दुई देशका स्कूले विद्यार्थीमा आ-आफ्नो देशको कला संस्कृति रहनसहन आदानप्रदान गराउने उद्देश्यले यहाँको लिटिल फ्लावर स्कूल र भारतको केरलामा रहेको लिटिल फ्लावर स्कूलबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ ।

दुवै विद्यालयका विद्यार्थीले साथी बनाएर एकले अर्को देशमा गएर त्यहाँको साथीसँग घरमै बसेर संस्कृति आदानप्रदान गर्नाका साथै सम्बन्ध विस्तार गरिरहेका छन् । यसै कार्यक्रम अन्तर्गत यतिबेला केरलाका छ छात्रा र पाँच छात्रसहित प्राचार्य र शिक्षक पनि यहाँ आइपुगेका छन् । नारायणगढ लिटिल फ्लावर स्कूलका प्रिन्सिपल रोवि केयुका अनुसार ती छात्रछात्राले यहाँका एक/एक साथी बनाएर उनीहरुकै घरमा बसेका हुन् ।एक साताको यो कार्यक्रमको अवधिमा ती छात्र-छात्रा र शिक्षकलाई यहाँकोे पर्यटकीय क्षेत्र पोखरा, सौराहा, मनकामना, शास्वतधामलगायत क्षेत्रमा भ्रमण गराइएको छ ।

गत सोमबार यहाँ आएको सो टोली आउँदो सोमबार फर्कदै छ । उनीहरु फर्किएपछि आउँदो दशैं र तिहारको बीच बिदाको समयमा तिनका यहाँका साथीलाई केरला लगिने केयुले बताउनुभयो । यस कार्यक्रममा कक्षा ९ का विद्यार्थीलाई समावेश गराइएको छ । तीन महीनाअघि यहाँका विद्यार्थी र केरलामा रहेका विद्यार्थीबीच सामाजिक सञ्जालमार्फत साथी बनाउने काम गरिएको थियो । सो अवधिमा उनीहरू बीचमा सम्बन्ध सुमधुर बनाउने र एक देशको कला संस्कृति अर्को देशका साथीलाई जानकारी गराउने काम गरिएको उहाँले बताउनुभयो ।

केरलाबाट आउनुभएका उक्त स्कूलका प्रिन्सिपल रोविन थोमसले यस सम्बन्धले दुई देशबीचको सम्बन्ध अरु प्रगाड बनाउनाका साथै संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कक्षा ९ मा अध्ययनरत सुजल पोख्रेलले आफूसँग केरलाका आदिनाथ आफ्ना साथी बनेकामा खुशी प्रकट गर्दै घर, स्कूल, पर्यटकीय क्षेत्रमा साथीसँगै घुम्ने क्रममा केरलाको बारेमा जान्ने अवसर मिलेको बताउनुभयो । पोख्रेलका अभिभावक गीता पोख्रेलले यस कार्यक्रमले विद्यार्थीलाई अध्ययन अवलोकनमा रुचि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्