सुर्खेतका असिनापीडितलाई राहत दिन माग



२४ चैत २०७५, सुर्खेत

कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सदस्यले हावाहुरी र असिनापानीले करोडौं क्षति पु¥याएको भन्दै राहत तथा क्षतिपूर्ति दिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले २४ घण्टाभित्र अनुगमन समिति गठन गरी क्षतिपूर्तिको घोषणा गर्न माग गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य मीनासिं रखालले यही चैत २२ र २३ गते आएको हुरीबतास र असिनापानीले दैलेखको क्षेत्र नं २ मा करोडौं मूल्य बराबरको अन्नबाली, फलफूल नष्ट गरेको जानकारी गराउनुभयो । उहाँले क्षतिको मूल्याङ्कनका लागि तत्काल अनुगमन समिति गठन गरी क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्नुभयो ।

नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले असिनापानीले सिङ्गो जिल्ला प्रभावित हुँदासमेत प्रदेश सरकार मौन बसेको भन्दै आक्रोश पोख्नुभयो । दैलेखकै अर्का प्रदेशसभा सदस्य सुशीलकुमार थापाले पाँचवटै स्थानीय तहमा असिनापानी र हावाहुरीले ठूलो क्षति पु¥याएकाले तत्काल राहत प्याकेज घोषणा गर्न जोड दिनुभयो ।

जुम्लाका प्रदेशसभा सदस्य पदम रोकायाले कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमा क्षेत्र दहीखोलामा खसेको पहिरो हटाउन माग गर्नुभयो । पहिरो खसेको तीन दिन बितिसक्दासमेत यातायात सुचारु नहुँदा यात्रुले सास्ती भोग्नुपरेको उहाँको भनाइ थियो । साथै, उहाँले प्रदेश सरकारले मातहतका निकायलाई बजेट खर्चको अख्तियारी नदिँदा विकास योजना अझैं सञ्चालन हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्