राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव



२२ चैत २०७५, काठमाडौं

सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ ।

गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत् वितरण गर्ने नीति बनेपछि ढिलाइ भइरहेको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधि निःशुल्क पाइने नीति भए पनि गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा २० वटा पाउन पनि मुस्किल हुने गरेको स्वास्थ्य सहायक सुशील घिमिरेले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा ५५+३ र स्वास्थ्यचौकीमा ३५+३ औषधि निःशुल्क वितरण गर्ने सरकारको नीति छ । प्रसूति सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा थप तीन प्रकारको औषधि वितरण हुन्छ । प्रसूति सेवाको सुविधा नभएका केन्द्रमा ५५ र स्वास्थ्यचौकीमा ३५ औषधि निःशुल्क वितरण हुन्छ ।

केन्द्रमा भएका औषधि पनि चिकित्सकले मेडिकलबाट किन्न भन्ने गरेको बिरामीको गुनासो छ । केन्द्रमा उपचारका लागि आएका घनश्याम श्रेष्ठले स्वास्थ्य डा कुशल गौतमले भएको औषधि पनि किन्न भनेको बताउनुभयो ।

केन्द्रमा भएकै औषधि खरिद गर्न भन्नुको तीन कारण हुनसक्ने सेवाग्राही श्रेष्ठले बताउनुभयो । पहिलो आएको औषधि बाहिर बेच्छन् भन्ने गुनासोको पुष्टि, दोस्रो नगरपालिकाले औषधि पठाएन भनी सन्देश दिने र तेस्रो केन्द्रको नजिकमा सञ्चालन भइरहेका मेडिकलको व्यापार वृद्धि गर्नेमध्ये हुनसक्ने उहाँको भनाइ छ ।

कति औषधि केन्द्रमा आउँछन् । कहाँ÷कहाँ जान्छन् । यहाँ कति प्रकारका औषधि छन् भनेपछि श्रेष्ठले स्टोर शाखामा बुझ्न भन्ने गरेका बिरामीको भनाइ छ । नगरपालिकामा औषधि माग गरी फारम भरेर पठाएको महीनौँ बित्दा पनि नआएको स्थास्थ्य सहायक घिमिरेको दुःखेसो छ ।

प्रतिक्रिया दिनुहोस्