व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन



२२ चैत २०७५, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ ।

दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्त्याएको छ । अमेरिका र चीन सहित विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरुको आर्थिक वृद्धि घट्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको अन्तिम व्यापार वार्ता र सम्झौतामा हस्ताक्षर हुने मितिमा विश्व समुदाय प्रतिक्षारत रहेको छ । तर चिनियाँ र अमेरिकी व्यापार प्रतिनिधिहरुले दुई नेताको भेटवार्ताको मिति घोषणा गर्न सकेका छैनन् ।

व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको सङ्केत पाएसँगै विश्वको शेयर बजारमा पछिल्ला दिनहरुमा सुधार आएको छ । “हामी आगामी चार हप्तामा केही हुने विश्वासमा छौं । त्यसपछिका दुई हप्तामा अवश्य केही हुनेछ,” चिनियाँ व्यापार प्रतिनिधि लिऊ हेसँगको भेटपछि वासिङ्टनमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्