
केही महिनाअघि नेपालमा विक्री भइरहेका स्वदेशी तथा विदेशी सौन्दर्य सामग्रीको परीक्षण गर्दा अत्यधिक मात्रामा मानवस्वास्थ्यलाई हानि गर्ने तत्वहरू भेटियो ।
यसअघि यस्ता सामग्रीप्रति खासै वास्ता नगर्ने अनुगमनकारी सरकारी निकायका अधिकारीहरू समेत उक्त परीक्षण प्रतिवेदन हेरेर झस्किए ।
तर आफैँले गरेको परीक्षणबाट मानवस्वास्थ्यलाई नै असर पार्ने तत्व मिसाइएको पुष्टि हुँदा पनि सरकारी निकायलाई कडा कारबाही अघि बढाउन समस्या पर्ने देखियो ।
त्यसको कारण हो हालसम्म नेपालमा सौन्दर्य प्रसाधनका सामग्रीहरूको मापदण्ड नहुनु । त्यसपछि बल्ल उपभोग्य वस्तुको गुणस्तर मापदण्ड तय गर्ने र अनुगमन गर्ने निकायहरूले यसबारे चासो लिन पुगे ।
मापदण्ड किन?
त्यसका लागि केही चल्तीका कम्पनीहरूले उनीहरूलाई झक्झक्याउने काम गरेका थिए ।
आफ्नो नाम, लोगो र ट्रेडमार्क चोरेर बजारमा सौन्दर्य प्रसाधनका सामग्री बिक्री गरिएको पाइएपछि उनीहरूले उद्योग विभागमा उजुरी दिएका थिए ।
-होलीमा कमसल रङ्ग प्रयोग गरिरहँदा क्यान्सर र मिर्गौला रोगको सम्भावना
-विषादी परीक्षण उपकरणको अभाव कायमै
उक्त उजुरीका आधारमा विभिन्न स्थानमा प्रहरीको सहायताले छापा मारेर ती सामग्रीको गुणस्तर परीक्षण गराइएको थियो ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, “परीक्षणका क्रमममा सौन्दर्य सामग्रीहरूमा अत्यधिक मात्रामा सिसा, पारो, आर्सेनिक, क्रोमियम, टाइटानियमजस्ता रसायन प्रयोग गरेको भेटियो । त्यसपछि हामीलाई जनस्वास्थ्यप्रति संवेदनशील हुनै पर्नेरहेछ जस्तो लाग्यो ।“





