मिथिला क्षेत्रका चित्रकला प्रदर्शनी



१६ चैत २०७५, काठमाडौँ

कलाकार रञ्जु यादवका मिथिला संस्कृति र समाजका विभिन्न विधासँग सम्बन्धित विषयको चित्रकला प्रदर्शनी आजदेखि शुरु भएको छ ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा शुरु भएको उक्त प्रदर्शनीमा राखिएका चित्रकलाले नेपाली समाजमा रहेका विकृति र विसङ्गतिलाई उजागर गरेको छ । प्रदर्शनीमा रहेका कूल २९ वटा चित्रकलामध्ये अधिकांश तराई-मधेशमा व्याप्त दाइजो प्रथा र बालिका भू्रण हत्यालगायत विसङ्गति र विकृतविरुद्ध प्रहार गरिएका चित्र समेटिएका छन् ।

केही चित्रकलाले भने त्यस क्षेत्रको सामाजिक परिवेश र परम्परा झल्काएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रदर्शनीमा राखिएका चित्र रु १० हजारदेखि ४२ हजार मूल्यसम्मका छन् ।

नेपालस्थित भारतीय दूतावासका उपप्रमुख डा अजयकुमारले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनी शुभारम्भ समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्मचार्य र प्राज्ञ रमेश खनाललगायतले रञ्जु यादवका चित्र सिर्जना र मिथिला क्षेत्रको चित्रकलाका विविध पाटो र पक्षबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्