‘राज्यले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने’



१६ चैत २०७५, विराटनगर

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राज्यले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताउनुभएको छ ।

लोकसेवा आयोग केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित ‘अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान’ कार्यशाला गोष्ठीमा उहाँले दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जीवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा सुझाव दिनुभयो ।

उहाँले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकको गुनासो गर्दैै प्रदेश लोकसेवा आयोग प्रमाणीकरण भइसकेका अवस्थामा आगामी असारसम्ममा आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरी विकासका कार्यलाई तीव्रगति दिइने जानकारी दिनुभयो ।

प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले गुणस्तरीय शिक्षाको विकास गरी आयोगले मर्यादित, गुणस्तरीय जनशक्ति छनोटबाट नै मुलुकमा समृद्धि कायम हुने बताउनुभयो । आयोगका सचिव अशोककुमार झाले विश्व बजारमा आएको नयाँ विधिको प्रयोगवाट आयोगले योग्य व्यक्ति छनोटको कार्य शुरु गरेको उल्लेख गर्दै मुलुकलाई आवश्यक पर्ने उद्योग, जलस्रोत र पर्यटनलगायतका क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताउनुभयो ।

आयोगका सहसचिव डा खगेन्द्रप्रसाद सुवेदीले आयोगले अपनाउने परीक्षा प्रणाली, जनतालाई आवश्यक पर्ने सेवा सुविधा, सर्वसाधारणका गुनासा, नयाँ प्रविधिको छनोटको प्रयोग, क्षमताको पहिचान, सक्षमता आदि सम्बन्धमा सुझाव सङ्कलन गरी आगामी दिनमा सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधि, मानवअधिकार सङ्घ सङ्गठनका प्रतिनिधि, उपभोक्ता समिति, विद्यालय र सञ्चारकर्मीले आयोगले आगामी दिनमा दक्ष जनशक्ति र जनतालाई सेवा दिने कर्मचारी छनोट गर्दा अपनाउनु पर्ने सम्बन्धमा आवश्यक सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्