घरमा सुत्केरी शून्य अभियान



२६ फाल्गुन २०७५, डोटी

जिल्लाको जोरायल गाउँपालिकाले घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य बनाउने अभियानको शुरुवात गरेको छ । उक्त अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य पर्ने अभियानमा छौँ, यसमा सबैले हातेमालो गरिदिनु प¥यो ।” उक्त गाउँपलिकाका अधिकांश ग्रामीण क्षेत्रका महिला अझै पनि घरैमा सुत्केरी हुन थालेको खबर आउन थालेपछि घरमा हुने सुत्केरी तथा बाल मृत्यु दरलाई शून्य बनाउने अभियानको शुरुवात गरेको गाउँपालिकाका कार्यकारी अधिकृत समिर भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गामीण तथा स्वास्थ्यको पुहँचबाट टाढा रहेका महिला घरैमा सुत्केरी गराउन थालेका कारण हामीले यो अभियान चलाएका हौँ ।” घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रुपमा थालनी गरेका उहाँको भनाइ थियो ।

उक्त अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लबलगायतले सहयोग गर्ने गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले सञ्चालन गरेको अभियानमा सबैले सहयोग गर्ने प्रतिबद्धता जनएका छन्, अभियान सफल हुने अपेक्षा लिएका छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्