
२३ फागुन २०७५, काठमाडौं
घट्टेकुलो डिल्ली बजारस्थित एसएबी पब्लिक स्कुलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालयको विज्ञान विभागको संयोजकत्वमा सञ्चालित प्रदर्शनीमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूले भौतिक शास्त्र, रसायन शास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबर्टिक्स सम्बन्धी प्रदर्शनी प्रस्तुत गरेका थिए । उपत्यकाका केही कलेजहरूले पनि प्रदर्शनीमा आफ्नो परियोजना मार्फत सहभागिता जनाएका थिए ।

उक्त प्रदर्शनी काठमाडौँ उपत्यकाका थुप्रै विद्यालय तथा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा अवलोकन गरेका थिए ।

कार्यक्रम अवलोकनका क्रममा बोल्दै उच्च माध्यमिक विद्यालयहरूको छाता संगठन हिसानका अध्यक्ष रमेश सिलवालले एसएबीले आयोजना गरेको यस प्रकारको प्रदर्शनीले विद्यार्थीहरूमा उत्पन्न हुने विज्ञानका कौतुहलतालाई केही हदसम्म मेटाएको बताए ।

विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के.सीले एक्काइसौँ शताब्दी विज्ञानको युग भएकाले त्यस सम्बन्धी दक्षता हासिल गर्न विद्यार्थीहरू सक्षम बनून् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको विचार राखेका थिए ।






