गाउँमा एम्बुलेन्स पुग्दा स्थानीय हर्षित हुँदै पञ्चेबाजाले स्वागत



१९ फागुन २०७५, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको दुर्गम सुनकोशी गाउँपालिकाको सुनखानीमा एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन् । बिरामी पर्दा उनीहरुले अकालमा ज्यान गुमाउनु नपर्ने भन्दै खुशी व्यक्त गरेका हुन् ।

केही समयअघि समयमा अस्पताल र्पुयाउन नसक्दा गाउँमा एक सुत्केरीको मृत्यु भएको थियो । महिला स्वयंसेविका ज्ञानमाया लामाले भनिन् ‘एम्बुलेन्स आयो, अब अकालमा कसैको ज्यान जाँदैन, समयमा नै उपचार गर्न पाइन्छ ।’

पक्की सडक र राजमार्गले नछोएको सो गाउँमा एम्बुलेन्स पुग्दा फूलमालाले स्वागत गर्दै गाउँमा पञ्चेबाजा बजाउँदै गाउँले हर्षित भएका थिए ।

वडाध्यक्ष कृष्णबहादुर खड्का भन्छन्, ‘स्टेचरमा बोकाएर विरामी लैजादा बाटोमा नै मृत्यु भएका धेरै घटना छन् ।’

प्रतिनिधिसभा सदस्य अग्नि सापकोटा र नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाको पहलमा चिनियाँ राजदूतावासले बलेफी गाउँपालिका र सुनकोशी गाउँपालिकाको सुनखानीमा एक एक वटा एम्बुलेन्स प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्