
१९ फागुन २०७५, काठमाडौं
विद्यार्थीलाई जीवनमा केही गर्न सिकाउने उद्देश्य सहित स्थापित जोसेफ हाईस्कुल कपनले २१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

२०५३ सालमा ८ जना विद्यार्थीहरुबाट अध्यापन सुरु गरेको स्कूलमा अहिले १७७९ विद्यार्थीहरु अध्ययनरत छन् ।

२१ वर्षे अवधिमा आफ्नो विद्यालयले देशका हजारौं वालबालिकहरूलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नुका साथै व्यवहारिक शिक्षामा जोड दिदैं संघर्ष जीवनको एक अभिन्न अंग हो भन्ने भावना विकास गर्न जोसेफ हाई स्कुल र इन्टरनेशनल जोशेफ पब्लिक स्कुल निरन्तर लागिरहेको संस्थापक प्रिन्सिपल सूर्य बहादुर अधिकारीले बताए ।



कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए भने सडक वालबालिका जीवनमा आधारित नाट्य नाच समेत देखाएका थिए ।


कार्यक्रममा लोकप्रिय गायिका कुन्ती मोक्तानले कालजयी गीत गाउनुका साथै विद्यालयका पूर्व विद्यार्थी रेवान लामाले पनि आफ्नो गित प्रस्तुत दिएका थिए ।

अभिभावक दिवसमा विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरु डा. नमिता कँडेल, डा. प्रकृति थापा, नापि अधिकृतहरु प्रकाश घिमिरे, सरदचन्द्र मैनाली, ईन्जिनियहरु प्रज्वल थापा, ईन्जिनियर अरुण अधिकारी, ईन्जिनियर तथा नेपाल आर्मीका क्याप्टेन विश्व योञ्जन साथै लेक्चरर मनिसा लम्साल, गायक रेवन लामा, चाटर्ड एकाउण्टेन्ट निरज घिमिरे, हिमालयन एयरलाईन्स स्टेशन म्यानेजमेन्ट गणेश तामाङ्ग लाई सम्मान सहित प्रमाणपत्र दिईएको भाइस प्रिन्सिपल दिपक अधिकारीले बताएका थिए ।

व्यस्तताका वाबजुद कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका सभामुख कृष्णबहादुर महराले समाजका हजारौं जनताले मिहिनेत गरेमा मात्र देशको प्रगति हुने भएकाले साना नानीहरुको व्यक्तित्व विकास नै भोलिको देशको भविश्य भएकाले उनीहरुलाई विज्ञता प्रदान गर्न जोसेफ स्कुललाई थप सफलताको कामना गरेको थिए । सभामुख महराले उक्त कार्यक्रममा आफु २० वर्ष शिक्षक पेसामा रहेको कुरा स्मरण गरे । उनले आफुले शिक्षक भएर पढाएको शिक्षण संस्था अहिले दाङ्गको उत्कृष्ठ संस्था रहेको समेत बताए । आफ्नो छोटो वक्तव्यमा सम्मानित व्यक्ति मध्येका सदस्य सचिव नेपाल प्रज्ञा प्रतिष्ठानका डा. जगत प्रसाद उपाध्यायले विद्यार्थीहरुलाई कहिले पनि पिट्ने र थर्काउने काम गर्न नहुने तर उनीहरुमा पढ्नु पर्दछ भन्ने भावनाको विकास गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा समाज तथा राष्ट्रलाई विभिन्न क्षेत्रमा योगदान गर्ने प्राज्ञ परिषदका प्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा.हेमनाथ पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय तथा पत्रकार तथा समाजसेवी नारायाण प्रसाद दाहाललाई खादा तथा प्रमाण पत्र सहित सम्मान गरेका थिए ।


सन् २०१६ मा ब्रिटिश काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल नेपालको एक अग्रणी विद्यालयका संस्थापक प्रिन्सिपल सूर्य बहादुर अधिकारीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि सभामुख कृष्ण बहादुर महरा तथा बिशेष अतिथिमा समाजसेवी नारायणप्रसाद दाहालको उपस्थिती रहेको थियो ।






