नेपालमा पहिलो पटक जापानीज भाषा सम्बन्धि ‘ई–लर्निङ सेमिनार’ सम्पन्न



०४ फागुन २०७५, काठमाडौं

जापानीज भाषालाई नेपालमा सजिलोगरी सिकाउनका लागि  गोरेश निहँगो सुईसुई प्रबिधिको प्रयोगले सजिलो बनाउने भएको छ ।

राजधानीको ‘याक एण्ड यती होटेल’मा आज भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्वमन्त्री लेखराज भट्टले जापानीज भाषा सिक्न चाहने धेरै नेपाली युवाहरुको लागि यो ‘ई–लर्निङ सिस्टम’ एउटा महत्वपूर्ण अवसर भएको विश्वास दिलाए ।

उनले भने, ‘जापानको विकासबाट हामी नेपालीहरुले धेरै कुराहरु सिक्न सक्छौ ।’ कसरी आत्मनिर्भर हुने भन्ने कुरा जापानबाट सिक्न सकिन्छ । यसको लागि जापानीज भाषाको जानकारी हुन आवश्यक हुन्छ, यो माध्यमबाट भाषा सिकेर फाईदा लिन सकिन्छ ।’ उनले थपे,‘यो  सिस्टमबाट जापानी भाषा सिकेर रोजगारी तथा अध्ययनको लागि जापान जान चाहाने धेरै नेपाली युवाहरुको लागि एउटा महत्वपूर्ण अवसर हुनसक्छ ।’

लिङ्कन कलेज एण्ड ग्रुपको आयोजना र ‘जेआईसिई आएनसी’ को प्रायोजनमा सम्पन्न सेमिनारमा ई–लर्निङको माध्यमबाट जापानी भाषा अध्ययनबारे जानकारी गराईएको थियो । नेपालको जुनसुकै स्थानबाट आफुले जुनसुकै समयमा पनि भाषाको अध्ययन गर्न सकिने प्रबिधीको विकासले भाषा सिकाईमा सहजता ल्याउने आयोजकको विश्वास रहेको छ ।

अध्ययन अनुसन्धान तथा रोजगारको लागि जापान गएका र जान चाहने नेपाली युवाहरुलाई भाषाको समस्या पर्न गएको कारण सबैले सहजै रोजगारी पाउँन् भन्ने उद्देश्यमा पनि यो प्रबिधिले सहयोग पुग्ने आयोजकले जनाएको छ ।

शिक्षक बिना नै मोबाईल र कम्प्युटरको माध्यमबाट भाषा सिक्न सकिने हुँदा यो सबैका लागि लाभदायक हुने आयोजकको दाबी छ ।

बिदेशी कामदारहरुलाई आफ्नो देशमा लैजाने जापान सरकारको नीति अनुरुप अहिले लाखौं युवा जापानी भाषा सिक्नमा लागिरहेका छन् । आगामी ५ वर्षमा जापानले नयाँ नीति मार्फत झण्डै तीन लाख ४५ हजार विदेशी कामदारहरु भित्र्याउने योजना बनाएको छ ।

कार्यक्रममा जेआईसिई ईन्कका विभागीय प्रमुख नागाहामा सुजुकी, जेआईसिई ईन्कका प्रोमोशन रिक्र्युटमेन्ट म्यानेजर सिन्जातो मानाबु, गोरेश एकेडेमीका काउन्सुलर लक्ष्मण ओझा, ओकिनवा ईण्डष्ट्री प्रोमोशन पब्लिक कर्पोरेशनका कोअर्डिनेटर सुजुकी नोरिहिरो र ओकिनवा ईण्डष्ट्री प्रोमोशन पब्लिक कर्पोरेशनका निर्देशक ओमिने सातोशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्