कालिका मन्दिर निर्माण



२४ माघ २०७५, तनहुँ

व्यासनगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण गर्न थालिएको छ ।उक्त मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले काठ, इँटा र धातु प्रयोग गरी मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण अघि बढाइएको हो ।

सैँतिस हेक्टर क्षेत्रफल वनमध्ये करीब आठ हेक्टर जमीन ओगटेको तनहुँ कालिका शहीद शान्ति पार्क भित्र उक्त मन्दिर निर्माण थालिएको र यसमा हालसम्म रु एक करोड २० लाख खर्च भइसकेको र अझै रु एक करोड १८ लाख अपुग हुने देखिएको मन्दिर निर्माण समितिका कोषाध्यक्ष एकबहादुर रानाले बताउनुभयो । । मन्दिरमा गजुर राखिने र तामाको पाताले छाना छाइने योजना छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानीय विकास मन्त्रालय, व्यासनगरपालिका, जिल्ला समन्वय समिति, तनहुँ उद्योग वाणिज्य सङ्घ, दमौली बजार एकाइको सहयोग र जनसहभागितामा उक्त कार्य अघि बढाइएको हो ।

“एकसय धार्मिक पर्यटकीय गन्तव्यस्थलभित्र तनहुँ कालिकालाई पनिसरकारले सूचीमा राखेर यस वर्षदेखि संवद्र्धन गर्न थालेको छ,” उहाँले भन्नुभयो, “शान्त वातावरण र रमाइलो स्थान भएकाले पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ । करीब रु चार लाखको लागतमा मन्दिरको अगाडि भागमा घण्टा झुण्डाइने स्थानमा नौ थरिका इँटा प्रयोग गरिएको छ।”

सदरमुकाम दमौलीबाट करीब एक किलोमिटर दूरीको सिँढी उक्लेर मन्दिर पुग्न सकिन्छ भने मोटरबाट ८०० मिटरबाटो पार गर्नुपर्ने हुन्छ । उक्त बाटोको १०० मिटर कालोपत्र भइसकेकाले बाँकी ७०० मिटर यसै वर्ष कालोपत्र गरिने बताइएको छ ।
उद्यानभित्र के के बनाइन्छ ?

तनहुँ कालिका शहीद शान्ति पार्कस्थल भित्र प्रवेशद्वार, शहीद स्मारक पार्क, बालउद्यान, प्राकृतिक चिडिया घर, टिकट घर र भ्यूटावर निर्माण गर्न बाँकी छ । कालिका मन्दिर निर्माणाधीन अवस्थामा रहेकाले आगामी दशैँअगावै उक्त मन्दिर निर्माण गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको निर्माण समितिका अध्यक्ष मोतिकुमार श्रेष्ठले बताउनुभयो ।

“यस आवमा पर्यटन मन्त्रालयबाट रु ५० लाख र व्यासनगरपालिकाबाट रु २५ लाख विनियोजन भइसकेको छ ।’’ उहाँले भन्नुभयो, “उक्त रकमले पनि मन्दिर निर्माण गर्न अपुग हुने भएकाले चन्दा सङ्कलन गरेर भए पनि सम्पन्न गर्ने योजनामा समिति लागिपरेको छ ।”

प्रतिक्रिया दिनुहोस्