
१८ माघ २०७५, गूलेश्वर
जापानमा ब्रेनट्युमरका कारण सिकिस्त एक म्याग्देली चेलीको उपचारका लागि जापानमा रहेका म्याग्देलीले आर्थिक सहयोग अभियान सञ्चालन गरेका छन् ।
जिल्लाको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको उपचारका लागि मोना जापानमा आबद्ध म्याग्देलीले सहयोग अभियान सञ्चालन गरेको र हालसम्म रु ५० हजार सहयोग सङ्कलन भएको मोना जापानका सदस्य सागर कार्कीले जानकारी दिनुभयो ।
एक वर्ष अगाडि पिप्लेकै दिनेश दर्जीसँग विवाह गरेपछि जापान गएकी प्रमिला केही दिन अघि छोरी जन्माएपछि एक्कासि बेहोस हुनुभएको र जापानको कुवाना अस्पतालमा स्वास्थ्य जाँच गराउँदा ब्रेनट्युमर भएको चिकित्सकले बताएको जापानबाट कार्कीले जानकारी दिनुभयो । त्यसपछि प्रमिलाको शल्यक्रिया गरिएको थियो ।
ब्रेनट्युमरको शल्यक्रियापछि प्रमिलाको अवस्था थप चिन्ताजनक भएको मोना जापानका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । “अवस्था चिन्ताजनक छ, आमाको काखमा शिशु छ, उपचारमा लाखौँ खर्च हुन्छ”, कार्कीले भन्नुभयो । सहयोग सङ्कलन अभियानमा सरिक हुन र सक्दो सहयोग गरी प्रमिलालाई बचाउन मोना जापानका सदस्य कार्कीले सबैसँग आग्रह गर्नुभएको छ ।





