सरकारको विरोध किन ?



०७ पुस २०७५, युएई

पुष्कर शर्मा (युएई)

देशमा केही गरौं भन्ने भिजनरी व्यक्ति, लोभलालच नभएका व्यक्ति प्रधानमन्त्री बनुन् भनेर नै हो सारा जनताले आवश्यकता अनुसारको मत दिएर पठाएको । आम कार्यकर्ता चुनावमा आफ्नो ठाउँबाट ज्यान दिएर लाग्नेदेखि प्रधानमन्त्री बन्दा दीप प्रज्वलन समेत गरेर अब देश समृद्धिको बाटोमा हिड्यो भनेर खुशीयाली मनाएको । सरकार बनेको एक वर्ष पुग्न अझै २ महिना त बाँकी नै छ तर पनि तोकिएको कुल अवधिको झन्डै १८५ दिन व्यतित भईसक्यो अब ७२५ दिन बाँकी छ हातमा ।

यसबीचमा केही राम्रा काम हुँदै नभएका हैनन् भएका छन, हुँदैछन, प्रक्रियामा छन ।

१०० किलोमिटरकोे यात्रामा १८ किलोमिटर पुग्दा पनि गियर चेन्ज गर्न सकेन भने बुझ्नुपर्छ केही गडबडी छ । सवारी साधनमा नै खराबी छ कि, गियरबक्स मात्रै खराबी छ कि ड्राइभरको सिट असजिलो पो भएको छ कि अन्य प्राविधिक त्रुटी पो छ भनेर विज्ञबाट चेकजाँच गराउनुपर्ने हुन्छ । मैले यसो भन्दा प्रधानमन्त्री फेर्नुपर्छ भन्यो भनेर केही हनुमानहरु रुवाबासी पनि गर्लान तर सत्य के हो भने सरकारको रफ्तार नबढ्ने हो भने आवश्यक्ता अनुसार पार्टपुर्जा बदल्नुपर्छ नै । चाहे त्यो सानो वायर मात्रै होस वा सिंगो इन्जिन ।

सम्माननीय प्रधानमन्त्रीको सुशासन र विकासको नाराबाट मन्त्रमुग्ध नहुने सायदै होलान । अझ भ्रष्टाचार गर्दिन पनि र गर्न पनि दिन्न भन्ने प्रतिबद्धताले त उहाँको उचाई ह्वात्तै बढाएको नै थियो त्यतिबेलासम्म जतिबेला भ्रष्टाचारी भएकैले आफैंले बर्खास्त गरेको दिगम्बर झालाई पुनः नियुक्ति दिईयो । अझ अहिले उहाँकै पार्टीका सत्तापक्षीय सांसदहरु नै राज्यको ढुकुटी यसरी लुछिरहेका रहेछन कि गिद्धले सिनो नि त्यसरी लुछ्दैनन् । आफ्नै क्याबिनेटका माननीय मन्त्रीज्यूहरु दोहोरो तेहेरो सुविधा लिन तछाडमछाड गर्दैछन, एउटा गाडीले नभएर करोडौं मूल्यका गाडी स्वकीय सचिवदेखि आफन्तसम्मलाई पुर्याउन मरिमेट्दैछन । अनि सम्माननीय प्रधानमन्त्रीको त्यो गर्व लायक प्रतिबद्धतामा चिसो पानी खन्याए जस्तो हुन्छ, उहाँकै मातहतका सांसद मन्त्रीहरुले उहाको अभियानलाई खिल्ली उडाएजस्तो लाग्छ ।

कुनैबेला प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगाल बन्न सुझाउनु भएको थियो । कार्यकर्ता अरिंगाल बन्न पनि तयार नै थिए तर यी नै सांसद मन्त्रीको कर्तुत लुकाएर सक्दो लुट भन्नकै लागि अरिंगाल बन्नुपर्ने हो ? फेसबुक ट्विटर तिर असरल्ल परेका विरोधका पोस्टको जवाफी प्रतिक्रिया दिदै हिड्ने सम्माननीय प्रधानमन्त्रीको बोलीको रक्षाकवच बन्न अरिंगाल बन्नुपर्ने हो ? जे गर जसो गर यो मन त मेरो नेपाली हो भनेजस्तो जतिसुकै गलत गर, अनियमिततामा आँखा चिम्म गर, राष्ट्रको ढुकुटीबाट घुमाइफिराई कसरी लुट्न सकिन्छ लुट तर सुशासन र शून्य सहनशीलताको नारा लगाइराख भन्नकै लागि अरिंगाल बन्न सकिन्छ र ? सच्चा कार्यकर्ता हो, कुनै आशा, लोभ, स्वार्थ छैन र देश र पार्टी हितमा सोच्ने कार्यकर्ता हो भने कदापि सकिदैन  !

सम्माननीय प्रधानमन्त्री प्रति अझै पनि आम जनता विश्वस्त छन, आशावादी छन् र भरोसा गरेका पनि छन् तर कताकता के–के नमिलेको जस्तो भएर जेटले उडान भर्न सकिरहेको छैन । उडान गरिहाले पनि भरपर्दो क्रु मेम्बर नहुँदा गन्तब्यमा पुग्न नसकिने सम्भावना उत्तिकै रहन्छ । त्यसैले उडान भर्नु अघि क्रु मेम्बरको फाइनल लिस्ट तयार गर्नुपर्छ ।

पुर्व अर्थमन्त्री एवं नेपाली कम्युनिष्टका अग्रज नेताले प्रधानमन्त्रीलाई भेट गर्न सम्म दिएनन् भनेर सार्वजनिक रुपमा दुःख गर्नुपर्ने अवस्था किन आयो समिक्षा गर्नुपर्ने बेला विदेशीले चलखेल गरे भन्ने अभिव्यक्ति दिने सल्लाहकारहरुलाई प्रधानमन्त्री स्वयम्ले स्कूलिङ्ग दिनुपर्ने पो हो कि? सचिवालयमा भएका नेता कर्मचारीहरुको उद्देश्य सम्माननीय प्रधानमन्त्रीको उद्देश्य विपरीत भएर पो हो कि ? एकपटक गहिरिएर समिक्षा गर्नुपर्ने बेला आइसक्यो ।

फास्ट ट्रयाक बन्दैछ, धरहरा बन्दैछ, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्नै लाग्या छ, जनकपुर जयनगर रेल चल्नै लाग्या छ, काठमाडौंका सडक कालोपत्रे हुँदैछन भन्ने मात्रै सरकारका उपलब्धि हैन । राज्यको नीति निर्माताकै तहबाट जनताको करमा ब्रह्मलुट रोकिनु पर्दैन ? घुसखोर कर्मचारी, कामचोर कर्मचारी, राज्यले खटाएको ठाउँमा नगई सत्ता र शक्तिको आडमा आन्दोलन गर्ने जनताको करबाट पालिएका जुकाहरु माथि न्याय र सुशासनको डन्डा बर्साउनु पर्दैन ? प्रधानमन्त्रीसँग सिमित नेताको घेराभित्र बसेर, अनावश्यक कुरामा सवालजवाफ गरेर बस्ने फुर्सद नहुनुपर्ने हो । दुई तिहाईको सरकारलाई यो वा त्यो बहानामा काम भएन भन्ने छुट दिनेवाला छैनन् जनताले । चुनावी घोषणा पत्र सिरानी हालेर सुत्न हैन भन्ने अभिव्यक्ति धेरै सुनियो निर्वाचनताका त्यसै अनुरूप मात्रै काम भए पनि कोही कसैले अरिंगाल बन्नै पर्दैन ।

सम्माननीय प्रधानमन्त्रीको सपना साकार बनाउन सांसद मन्त्रीदेखि कर्मचारी आम जनतासम्मले जिम्मेवार बन्नुपर्छ, बनाउनुपर्छ । छतबाट बाटोमा फोहोर फालेर सरकारलाई सराप्ने जनता, जनताको करबाट तलब भत्ता खाएर काम नगर्ने कर्मचारी, घुस बिना फाइल नछुने हाकिम, सक्दो सेवा सुविधा र कमिसनमै ध्यान हुने माननीय ज्यूहरु, मिडियाले समेत राज्यप्रती जिम्मेवार र जवाफदेही बन्ने हो भने देश समृद्धि हुन युग कुर्नु पर्दैन । राज्यको ढुकुटी दोहन गर्न खोज्ने रुचाउने जोसुकैलाई बर्खास्त नै गर्नसक्ने हिम्मत नगर्ने हो भने प्रधानमन्त्री एक्लै असफल हुने हैन पार्टी र देश असफल हुन्छन् । त्यसैले गलत कुरामा खबरदारी गर्न नछोडौं, हरेक कुरामा चाकरी चाप्लुसी गरेर प्रधानमन्त्री मन्त्रीलाई गुमराहमा नराखौं ।

प्रतिक्रिया दिनुहोस्