
४ कार्तिक २०७५, महोत्तरी
शिक्षा संकायको पढाई औचित्यहिन बन्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले तत्कालको लागि शिक्षा संकायको पढाई रोक्नु पर्ने धारण अघि सारेका छन्।
शनिबार महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको उच्चा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा संकाय वेरोगजार उत्पादन गर्ने उद्योग मात्र रहेको टिप्पणी गरे। मन्त्री पोखरेलले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात् शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको बताउदै अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने बताए।
देशमा ७ लाख वेरोजगार शिक्षक रहेको उल्लेख गर्दै भने, ‘शिक्षा संकाय पढाई भन्दा देशशलाई प्राविधिक शिक्षाको अवश्यकता छ। समृद्ध देश बनाउन उत्पादन मुलक शिक्षा अहिलेको आवश्यकता रहेको उनले औंल्याए।समुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाई सुरु गरिएको उनले बताए।
‘दश प्रतिशत मात्र पढाई प्राविधिक शिक्षातर्फ भइरहेको छ,’ मन्त्री पोखरेलले भने, ‘मावि पढेर विद्यार्थी विद्यालयबाट बाहिर निस्किएपछि अब उनीहरुसँग हातमा सीप हुनैपर्छ’ देशभरीको ३१ हजार विद्यालय मध्य २ सय ५४ वटा विद्यालयमा प्राविधिक शिक्षातर्फको पढाई सुरु गरिएको छ।
नेपाल सरकारले देशको ७ सय ५३ स्थानीय सरकारमा कम्तिमा एउटा प्राविधिक शिक्षा विषयको पढाई अभियनकै रुपमा सुरु गरिएको छ। श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धसँग जोडेर सरकारले प्राविधिक शिक्षामा हात बढाएको मन्त्री पोखरेलको भनाइ छ। ‘सेवा र वस्तु उत्पादनको केन्द्र प्राविधिक शिक्षाल्य बन्नै पर्छ,’ विद्यालय उत्पादनको केन्द्र बने गरिबी र बेरोजगारी घट्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले शिक्षामा क्रान्तिकारी परिवर्तनका लागि शिक्षक जागिरे मानसिकताबाट बाहिर आउनु पर्ने औंल्याए। उनले भने,‘डन्डा चलाएर शिक्षामा परिवर्तन हुदैंन।’
नगरप्रमुख शिवनाथ महतोले गौशालामा डिग्रीसम्म पढाई हुनेगरी क्याम्पस स्थापना गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे। ‘यहाँका विद्यार्थी उच्च अध्ययनका लागि बाहिर जानुपर्छ। त्यसैले गरिवका छोराछोरी पढ्नलाई समस्या छ’, उच्च शिक्षा अध्ययनको व्यवस्था गाउँमै मिलाइदिन मेयर महतोले मन्त्रीलाई आग्रह गरे। यो खबर अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो।





