न्युयोर्कमा प्रथम दक्षिण एसिया सम्मेलन आज सम्पन्न हुँदै



०३ साउन २०७५, न्युयोर्क, अमेरिका

न्युयोर्कको क्विन्स स्थित वर्ल्ड फेर मरिनामा आज प्रथम पटक दक्षिण एसियालीमुलको सम्मेलन (South Asian Convention) आयोजना हुँदैछ ।

सम्मेलनको मुख्य उद्देश्य न्युयोर्क स्थित दक्षिण एसियालीमुलका समुदायका नेताहरु र न्युयोर्क शहर र राज्यका स्थानीय नेताहरुबीच सामुदायिक अन्तरक्रिया गर्नु रहेकोछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको आप्रावासीहरुप्रतिको नीति कठोर बन्दै गइरहेको बेला एउटा आप्रवासी समुदायको सम्मेलन विश्वको राजधानी मानिने शहर न्युयोर्कमा आयोजना हुनु निकै अर्थपूर्ण ढंगले हेरिएको छ । अमेरिकी सिनेट र हाउसको मध्येवाधि निर्बाचन (midterm election) आगामी नोभेम्बर महिनामा सम्पन्न हुन लागेको समय पारेर आयोजना गरिएको दक्षिण एसियाली सम्मेलन निर्बाचनमा प्रतिस्पर्धी गरिरहेका उम्मेदेवरलाई मात्र अर्थपूर्ण नभएर राष्ट्रिय राजनीतिमा जोड घटाउ गरिरहेका राजनीतिक विश्लेषकहरुका निम्ति पनि यो ठुलो चासोको विषय बनेको छ । एक दशकदेखि न्युयोर्कमा नेपाली समुदायको राजनीतिमा सक्रिय रहेका लुईसाङ वाईवा तामाङ यस प्रथम दक्षिण एसियाली सम्मेलन २०१८ का सह-संयोजक हुनहुन्छ । हाम्रो प्रतिनिधिले वहासँग गरेको कुराकानीको यहाँ छोटकरीमा प्रस्तुत गरिएको छ ।

दक्षिण एसियाली सम्मेलन २०१८ को तयारी कस्तो भइरहेको छ ?

सम्मेलनको तयारी पूर्ण भइसकेको छ । अब समापनको तयारी मात्र बाँकी छ ।

सम्मेलनमा के कति संख्यामा सहभागिता रहने अपेक्षा गर्नु भएको छ ?

दक्षिण एसियालीमुलका लगभग ५०० जना समुदायका अगुवाहरुको सहभागिता रहने हामीले आशा राखेका छौ । त्यही अनुसारको तयारी पनि भइसकेको छ ।

सम्मेलनको उद्देश्य के के हुन् ? छोटकरीमा भनिदिनुस् न ?

हामी दक्षिण एसियालीमुलका समुदायहरु अमेरिका आगमनपछि आफ्नै समुदायको गतिबिधि र आन्तरिक परिवेशमा धेरै जसो रुमल्लिरहेको पाउदछौ । विशेष गरेर नयाँ आप्रावासी समुदायको रुपमा चिनिने नेपाली, भुटानी, तिब्बेतीर अन्य समुदाय आफ्नै समुदाय भन्दा बाहिर निस्किन सकेको छैन । भारतीय र बंगलादेशी समुदायहरु तुलनात्मक रुपमा अन्य दक्षिण एसियाली समुदायभन्दा धेरै अगाडी छन् । शायद उनीहरुको अमेरिकी आवगमन हामी भन्दा धेरै अगाडि देखि भएकोले पनि होला । अमेरिकी मुलधारको राजनीति होस् या अन्य क्षेत्रमा एउटा देशको समुदाय भनेर चिनिनु भन्दा एउटा सिंगो क्षेत्रिय समुदायको रुपमा चिनिंदा धेरै अर्थ लाग्ने हुनाले हामीले दक्षिण एसियाली सम्मेलन आयोजना गरेका हौँ । हामी दक्षिण एसियालीहरु सांस्कृतिक रुपमा मिल्दोजुल्दो तथा आप्रावासी सम्बन्धि समस्या समान किसिमको हुने भएकोले हामीलाई एक जुट हुन पनि सजिलो छ । स्थानीय र राष्ट्रिय राजनीतिमा दक्षिण एसियाली समुदायको पहुँच वृद्धि एवं शशक्तिकरण गर्नु यो सम्मेलनको मुख्य उद्देश्य रहेकोछ । साथै दक्षिण एसियाली समुदायबीच भाइचारा र सदभाब वृद्धि गर्दै अमेरिकी मुलधारको राजनीतिमा एक्ताबद्द रुपमा सक्रिय हुनु यसको अर्को उद्देश्य रहेकोछ ।

सम्मेलनमा स्थानीय नेताहरु को को आउदै छन् ?

न्युयोर्क शहर र राज्यका विभिन्न प्रमुख नेताहरु सम्मेलनमा सहभागिता जनाउदै हुनहुन्छ । न्युयोर्क स्टेट एसेम्बलीदेखि स्टेट सिनेट र न्युयोर्क शहरका काउन्सिलमेन/वुमेनका साथै वित्तीय प्रमुख र क्विन्स बोरो प्रेसिडेन्ट लगायत अन्य नेताहरुको उपस्थित्ति रहनेछ । न्युयोर्कमा डेमोक्रेटिक पार्टीका हस्ती मानिने जोसेफ क्राउलीलाई प्राइमेरी चुनाबमा पराजित गरेर रातारात राष्ट्रिय राजनीतिमा उदाएकी डेमोक्रेटिक पार्टीका उम्मेदेवर अलेक्क्षेन्ड्रीया ओकाजियो कोर्टेज सम्मेलनको आकर्षण रहनेछ ।

सम्मेलनमा नेपालीहरुको मात्र उपस्थिति कति रहने छ ?

लगभग १०० जना नेपालीहरुको सहभागिता रहने मेरो अपेक्षा छ । जति धेरै सहभागिता हुन सक्छ हाम्रो समुदायलाई त्यती नै धेरै लाभ हुनेछ ।

यस सम्मेलनमा तपाईको अतिरिक्त अन्य नेपालीहरु आयोजक समितिमा छन् कि छैनन् ?

कुल ४० जना आयोजकहरु मध्ये नेपालीहरु मात्र १८ जना छौ । सम्पूर्ण साथीहरु आ-आफ्नै तरिकाले सम्मेलन सफल पार्न लागी पर्नु भएको छ । नेपाल अमेरिका पत्रकार संघका पूर्ब अध्यक्ष आङ छिरिंङ शेर्पा, तामाङ समाज अमेरिकाका अध्यक्ष श्रीमती सानुमाया तामाङ र सामाजिक अभियन्ता यादब बास्तोला नेपाली समुदायकोतर्फबाट सम्मेलन आयोजनाको प्रमुख भूमिकामा हुनुहुन्छ । अन्य साथीहरु पनि त्यतिकै महत्वपूर्ण भूमिकामा हुनुहुन्छ ।

सम्मेलनमा सभागिताको लागि तपाईको तर्फबाट केहि भन्नु छ ?

यो सम्मेलनको महत्व अत्यन्तै ठुलो छ त्यसैले समय निकालेर सहभागी हुन समुदायका सम्पूर्ण अगुवा र अभियन्ताहरुलाई अनुरोध गर्न चाहन्छु । हामीले समुदायका अभियन्ताहरुलाई निमन्त्रणा पनि पठाएका छौ यदि कतै निमन्त्रणा नपुगेको खण्डमा यसैलाई निमन्त्रणा ठानी दिनु हुन पनि अनुरोध छ । हाम्रो आफ्नो समुदायभित्रको राजनीतिसंगै अब मुलधारको राजनीतिमा समाहित हुने समय आएको छ । त्यसैले तपाई हामीबाट नै यो शुभारम्भ गरौ भन्न चाहन्छु । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्