
१७ असार २०७५ ,काठमाडौं
त्रि-ज्योति माध्यमिक विद्यालयले २०७४ को एसईई परिक्षामा उत्रिर्ण आफ्ना सबै विद्यार्थीहरुलाई सम्मान गर्दै विदाई गरेको छ। हिजो शनिवार बुढानिलकण्ठ नगरपालिका स्थित १२ नम्बर वडामा रहेको उक्त विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान सहित विदाई गरिएको हो।
१२ नम्बर वडाका वडा अध्यक्ष शम्भु भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा १० नम्बर वडाका वडा अध्यक्ष नवराज भट्टराई विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा, १२ नम्बर वडाका वडा सदस्य पुरुषोत्तम नेपाल , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, संचालक समितिका सदस्यहरु, अभिभावकहरु, बुद्दिजिविहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
विद्यालयका संचालक समितिका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई विद्यालयका सहायक प्रमुख गणेश कुमार मिश्रले शब्दद्वारा स्वागत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुति समेत प्रस्तुत गरेका थिए। एसईई परिक्षामा उत्रिर्ण सबै विद्यार्थी तथा शिक्षकहरुलाई प्रमुख अतिथि भट्टराईले खादा लगाएर मायाको चिनो प्रदान गरेका थिए।
विद्यालयले उत्कृष्ट नतिजा निकाल्न सफल भएकोमा प्रमुख अतिथि भट्टराईले समग्र विद्यालय परिवार र अभिभावकहरुलाई एकमुष्ठ बधाई दिएका थिए। अब विज्ञान जस्ता प्राविधिक विषयमा मात्र नभएर सबै विषयहरुमा विद्यार्थीहरुले विज्ञता हासिल गरेर देशलाई आवस्यक जनशक्ति बन्नु पर्ने समेत भट्टराईले बताए। कार्यक्रममा बोल्दै विद्यालयका प्रमुख भगवान अर्यालले शिक्षक र विद्यार्थीको मिहेनतले गर्दा विद्यालयले राम्रो नतिजा निकाल्न सफल भएकोमा आफु धेरै खुसि भएको बताए।





