प्रदेश १ बजेटमा ‘एक स्थानीय तह एक योजना’



१७ जेठ २०७५, बिराटनगर

प्रदेश १ को वर्षे अधिवेशन अस्थाईमुकाम बिराटनगरमा आजबाट शुरु भएको छ । सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्तपत्र सदनसामु पढेर सुनाउदै अधिवेशन शुरु गरेका हुन् ।

बजेट ल्याउने मुख्य उदेश्य भएको यो अधिवेशनले प्रदेशको स्थायीमुकाम र नामाकरणको समेत टुङ्गो लगाउने अड्कल गरिएको छ । प्रदेश सरकारले नीति, कार्यक्रम तथा बजेटको विषयमा सुझाव संकलन थालेको छ । बिहीबार बिराटनगरमा विशेष कार्यक्रम मार्फत सरकारले ल्याउन लागेको बजेट र त्यसका प्राथमिकताका विषयमा जानकारी गराएको थियो ।

बजेटमा नयाँ कार्यक्रम ‘एक स्थानिय तह एक योजना’ समेत समेटिने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । राईका अनुसार प्रदेश बजेटको पहिलो प्राथमिकतामा कृषि, दोश्रोमा पर्यटन, तेश्रो जलविद्युत, चौथो उद्योगधन्दा र पाँचौमा पूर्वाधार विकासलाई समेटिने छ ।

प्रदेश सरकार बाह्य लगानी आकर्षित गर्न लागेको बताउदै राईले आन्तरिक श्रोतको दायरा बढाउँदै वास्तविक धरातलमा बजेट ल्याउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्