विदेशबाट फर्केकालाई १० लाख र प्रमाणपत्र धितोमा ७ लाख ऋण दिने सरकारको योजना



१६ जेष्ठ २०७५, काठमाडौ

शैक्षिक प्रमाणपत्र धितो राखेर सरकारले अब ७ लाख ऋण दिने भएको छ । हिजो मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण ५ प्रतिशत ब्याजमा दिने उल्लेख गरेका छन् ।

त्यसैगरी अब सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम पनि संचालन गर्ने भएको छ । जुन कार्यक्रमको लागि ३ अर्ब १० करोडको बजेट छुट्टाएका छन् । सरकारले सार्वजानिक रोजगारी प्रत्याभूतिको निम्ति अब चाडै छुट्टै विधेयक संसदमा पेस गर्ने भएको छ ।

समान कामका लागि समान ज्याला, रोजगार सुचना केन्द्र स्थापना र आन्तरिक श्रम निरीक्षण गर्ने कार्यक्रम पनि सरकारले राखेको छ । साथसाथै च्यालेन्ज फन्ड स्थापना गर्ने, वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जनामा प्रयोग गर्ने कार्यक्रम पनि अघि ल्याएको छ ।

सीप सिकेका दक्ष कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ प्रदेशमा श्रम स्वीकृतिको कार्यालय स्थापना गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परिक्षण गरि व्यवसाय गर्नको निम्ति १० लाखसम्म ऋण दिने योजना पनि सरकारले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्