एनआरएनएको विज्ञ सम्मेलन अक्टोबरमा विधानसभाको तयारी तीव्र



काठमाण्डौ, २४ चैत्र २०७४

गैरआवासिय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी  १२ र १३ अक्टोवरमा  दुई दिने विज्ञ सम्मेलन हुने भएको छ । काठमाण्डौस्थित संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली दिवसको अवसर पारेर संघले सो सम्मेलन गर्न लागिएको जानकारी दिइएको छ । सम्मेलनमा नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत, पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्यसुरक्षा लगायतका विभिन्न विधामा नीतिगत तथा विषयगत रुपमा छलफल गरिने सम्मेलन संयोजक डा. हेमराज शर्माले जानकारी दिए।

विधानसभा तथा बौद्धिक सम्मेलनको तयारीका लागि अमेरिकामा आगामी जुनमा, युरोपको लग्जेम्वर्ग जुलाईमा, एशियाको थाईल्याण्ड लगायतका अन्य क्षेत्रहरुमा तयारी सम्मेलनहरु आयोजना हुने एनआरएन उपाध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

गैरआवासीय नेपालीहरुको ज्ञान, सीप, प्रविधि, पूँजी तथा बौद्धिकतालाई नेपालको दिगो विकास समृद्धिका लागि समयसापेक्ष उपयोग गरिरहेको भन्दै आगामी दिनमा निरन्तरता दिन समेत सम्मेलन फलदायी हुने बताइएको छ ।

संघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘गैरआवासीय नेपाली संघको पहलमा नेपालमा पूँजी एवं लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन खासै सफलता हासिल गर्न नसकिएको अवस्थामा विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीपको प्रयोगका लागि पहल गर्ने निर्णय संघले गरेको हो ।’

यसैबीच गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन विधानमा व्यापक संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै  आगामी १४ अक्टोवर २०१८ मा संघले विधानसभा समेत आयोजना गर्ने भएको छ । सो विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहकार तथा मानार्थ सदस्यहरुले भाग लिने संघका उपाध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

यसै सन्दर्भमा गैर आवासीय नेपालीहरुको सामूहिक लगानी प्रबद्र्धन गर्नका लागि एक छुट्टै कम्पनी खडा गर्ने सम्बन्धमा समेत प्रारम्भिक अध्ययन तयार भएको एनआरएनले जनाएको छ । नेपाल सरकारसँग छलफल गरी सो अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिइने र एक कम्पनी खडा गरी लगानीको रकम जम्मा गरिने संघका डा.बद्री केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्