यसकारण बाँझोपन



बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन । महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन । यस्तो समस्यामा पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छन् । यसर्थ, दुवैजनाले आ–आफ्नो स्वास्थ्य वेलैमा जाँच गराई समस्याको मूल पहिल्याउनुपर्दछ ।

के हो बाँझोपन
महिलामा रजस्वलाको सुरुवात भएपछि र पुरुषमा वीर्य उत्पादन हुन थालेपछिको शारीरिक सम्पर्कबाट सन्तान उत्पादन हुन्छ । तर, वैवाहिक जीवनपश्चात् नियमित शारीरिक सम्बन्ध राख्दासमेत बच्चा नभएमा बाँझोपनको आशंका गर्नुपर्छ ।

पुरुषमा
पुरुष वा महिला दुवैको कारण बाँझोपनको सम्भावना हुन्छ । पुरुषमा वीर्य उत्पादनमा कमी हुँदा वा नहुँदा, अत्यधिक लागुपदार्थ सेवन गर्दा, सम्भोगमा करिब दुई एमएल वीर्य स्खलन नहुँदा पनि यस्तो समस्या आउन सक्छ । सामान्यतया स्वस्थ व्यक्तिको वीर्यमा शुक्राणुको संख्या चार करोडदेखि १० करोडसम्म हुन्छ । कुल शुक्राणुमध्ये करिब ३५ प्रतिशत शुक्राणुको बनावट गर्भाधान गर्न योग्य हुन्छ । त्यसैले शुक्राणुको मात्रा कम देखिएमा पनि यस्तो समस्या आउन सक्छ ।

महिलामा
महिलामा भएका विविध समस्याले बाँझोपन निम्त्याउने गर्छ । प्रजनन अंग पूर्ण रूपमा विकसित नहुँदा, डिम्बबाहिनी नली अर्थात् फोलिपियन ट्युबमा अवरोध सिर्जना हुँदा, पाठेघरमा घाउ भएमा, श्वेतप्रदर (ल्युरोकोरिया), गर्भाशयमा ग्रिवा सोथ, डिम्बाशयमा सिस्ट हुँदा बाँझोपनको समस्या निम्तिन सक्छ । डिम्ब निष्कासन नहुँदा, थाइराइड ग्रन्थिको हर्मोनमा समस्या देखिँदा, शारीरिक एवं मानसिक तनावलगायतका कारणले पनि महिलामा बाँझोपनको अवस्था निम्तिन्छ ।

लक्षण
अनियमित रूपले महिनावारी हुनु ।

महिनावारी हुने समय अत्यधिक रूपमा तल्लो पेट र कम्मरको भाग दुख्नुका साथै कालो र ढिक्का–ढिक्का रगत बग्नु ।

योनिबाट नियमित रूपमा सेतो पानी बग्नु ।

सम्भोगका वेला पीडा महसुस हुनु, रुचि घटेर जानु ।

यस्ता जोखिममा
लामो समयदेखि परिवारनियोजनको अस्थायी साधन प्रयोग गर्ने मानिस बाँझोपनको जोखिममा हुन्छन् । त्यस्तै, पटक–पटक क्युरेट गराई गर्भपतन गराउँदा, महिनावारी रोक्ने खालका औषधिको बढी प्रयोग गर्दा, शरीरको तौल आवश्यकताभन्दा कम हुँदा पनि बाँझोपनको समस्या हुन सक्छ । (साभार : नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्