
काठमाडौं, १३ चैत्र
महिलाले गर्भनिरोधक खाने चक्की प्रयोग गर्न थालेको दशकौं भयो तर पुरुषका लागि बनाएको सुरक्षित र प्रभावकारी गर्भनिरोधक चक्की पहिलो पटक चाँडै उपलब्ध हुने भएको छ ।
अमेरिकाको सिकागोमा गत आइतवार ईन्डोक्राईन सोसाइटीको बैठकमा पुरुषको गर्भ निरोधक चक्कीको वारेमा गरिएको अनुसंधानको विवरण प्रस्तुत गरियो । डाईमेथान्ड्रोलोन अन्डिकनोईट (डिएमएयू) नामको हर्मोन चक्कीले शुक्राणु उत्पादनमा योगदान गर्ने टेस्टोस्टेरोन र अन्य हर्मोनको स्तर प्रभावकारी रुपमा घटाएको जानकारी अनुसंधान टोलीले दिएको छ । ‘गोरखापत्र’ मा समाचार छ । यस औषधिको दुष्प्रभाव पनि छैन ।
प्रमुख अनुसंधानकर्ता तथा वासिङ्टन विश्व विद्यालयका हर्मोन विशेषज्ञ डा. स्टेफनी पेजले भन्नुभएको छ, हाम्रो र अन्य सबैको लक्ष्य के हो भने निकै कम दुष्प्रभाव हुने पुरुषको गर्भनिरोधक चक्की बनाउने । महिलाले प्रयोग गर्ने विभिन्न खालका गर्भनिरोधक उपाय छन् । खाने चक्की , इन्जेक्सन आईयुडी, कण्डम आदि तर पुरुषका लागि हाल कण्डम र भ्यासेक्टोमी मात्र उपलब्ध छ । नयाँ अनुसंधानमा १८ देखि ५० वर्ष उमेर समूहका ८३ जनामाथि खाने चक्की परीक्षण गरिएको थियो ।
उनीहरुलाई १००,२०० वा ४०० मिलिग्राम औषधि खान दिएर परीक्षण गर्दा सहभागीको रगतमा टेस्टोस्टेरोनको मात्रा घटेर बन्ध्याकरण गरिएको अवस्थाको जस्तो भएको देखियो । रगतमा ५० नानोग्राम प्रति डेसिलिटर टेस्टोस्टेरोन पुगेको अवस्थालाई बन्ध्याकरण गरिएको अवस्था सरह मान्ने गरिएको छ । ४०० मिलिग्राम औषधिले त टेस्टोस्टेरोन हर्मोन र अण्डकोषमा शुक्राणु उत्पादन नियमन गर्ने दुई हर्मोन एलएच र एलएफएस पनि धेरै घटाएको पाइएको थियो । सामान्यतया पुरुषमा टेस्टोस्टेरोनको मात्रा ३५० देखि ११ सय नानोग्राम प्रति डेसिलिटर हुनेगर्छ ।
मेयो क्लिनकका अनुसार टेस्टोस्टेरोनको न्यून मात्रा यौवनारम्भ हुनु पहिलेका केटा र केटीमा मात्र हुन्छ क। वयस्क पुरुषमा यसको मात्रा वाञ्छित अवस्थामै रहने गर्छ । सन् १९५० को दशक देखि नै पुरुषका लागि गर्भनिरोधक खाने चक्की बनाउने प्रयास भइरहेको छ । सोही दशकमा वैज्ञानिकले पहिलो पटक हर्मोनमा आधारित गर्भनिरोधक औषधि बनाएका थिए । महिलाले हालसम्म गर्भनिरोधका लागि खाने चक्की प्रयोग गर्दै आएकोमा पुरुषका लागि यस प्रकारको औषधि बनाउन सकिएको थिएन । अनुसंधानमा प्रयोग गरिएको डिएमएयुको गुण एन्डो«जिन (उदाहरणका लागि टेस्टोस्टेरोन ) र प्रोजेस्टिन (उदाहरणका लागि प्रोजेस्टोरेन ) को समान छ । यस औषधिले शरीरलाई पर्याप्त मात्रामा टेस्टोस्टेरोन रहेको भ्रममा हालेर टेस्टोस्टेरोन बनाउन दिँदैन अनि शुक्राणु उत्पादनमा त्यसको प्रभाव पर्छ ।
एन्डोजिन सरह गुण भएको औषधिले टेस्टोस्टेरोनको न्यून मात्रासँग जोडिएका दुष्प्रभाव समेत रोक्ने भनाई पेजको छ । पुरुषका लागि बनाइएको गर्भनिरोधक औषधि यसअघि पनि सन् २०१६ मा परीक्षण गरिएको थियो । हरेक आठ हप्तामा इन्जेक्सनद्वारा लिनुपर्ने यो औषधिले गर्भ बस्न नदिए पनि डिप्रेसन, डण्डीफोर, यौन दुर्वलता जस्ता दुष्प्रभाव देखायो । दुष्प्रभावकै कारण ३२० सहभागीमध्ये २० जनाले अनुसंधान वीचैमा छाडेका थिए ।





