जीवनोपयोगी शिक्षा दिन खुल्यो काठमाडौँ वर्ल्ड स्कुल



काठमाडौँ: जीवनोपयोगी शिक्षा दिने उद्देश्यसहित भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको स्कुल सञ्चालनमा आएको छ। छात्राबास सुविधासहितको काठमाडौँ वर्ल्ड स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका-७, गुन्डुमा सञ्चालनमा आएको हो ।

स्कुलका प्रमुख कार्यकारी डा. राजेन्द्र कुमार घिसिङ्गले स्कुलले नेपाली पाठ्यक्रममा आधारित भएर कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा दिने बताए । उनले यो स्कुलमा ए लेभलको पठनपाठन पनि गराउने बताए ।

उनका अनुसार शैक्षिक सत्र २०७५ का लागि कक्षा १ देखि ५ सम्मको भर्ना खुला गरिएको छ । यस्तै कक्षा ११ र ए लेभलको कक्षा शैक्षिकसत्र २०७६ बाट सुरू स्कुलले जनाएको छ ।

गुन्डुमा करिब ५५ रोपनी जग्गामा स्कुल फैलिएको छ यो स्कुलमा ३००,००० वर्गफिट बराबरको भौतिक संरचना निर्माण भइरहेको छ । पहिलो चरणको निर्माण सकिएको छ । दोस्रो चरणको निर्माण आगामी एक वर्षमा सक्ने योजना छ ।

निर्माण पूरा भएपछि करिब १,२०० विद्यार्थीले यो स्कुलमा अध्ययन गर्नेछन् । त्यसैगरी ३८० जना छात्रछात्राहरूको आवास गृह पनि बनाइँदैछ ।

अतिरिक्त क्रियाकलाप भवनमा स्वीमिङ पुलसहितको पूर्वाधार रहेको छ । करिब १५ भन्दा धेरै अतिरित क्रियाकलाप पनि यो भवनमा गराइनेछ । नृत्य, संगीत, मार्सल आर्टस्, लङ टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपर्पोज कोर्ट, फुटसल, आदिको सुविधा यहाँ छ ।

यो स्कुलमा सेमिनार र सांस्कृतिक कार्यक्रमका लागि दुई हाल बनिसकेका छन् भने करिब ६०० क्षमताको अडिटोरियम पनि बनाइनेछ । नेपाली अभिभावकहरूले बच्चालाई मुलुकबाहिर लानुपर्ने स्थिति अन्त्य गर्न स्कुल सहयोगी हुने घिसिङले दाबी गरेका छन् ।

‘विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र सानैदेखि आफ्नो कामप्रति जिम्मेवार हुन सिकाउने, समाजप्रति उत्तरदायी बनाउने र दया, करुणा, भाइचाराको अभिवृद्धि गर्ने तथा एकअर्का प्रतिको सम्मानलाई आत्मसात गर्न निरन्तर समाज सेवामा लगाउने योजना छन्’, उनले भने, ‘विद्यार्थीलाई कुनै कुरा सिकाउने भन्दा पनि आफैँले नयाँ कुरा सिकुन् भन्नेमा स्कुलले जोड दिएको छ ।’

स्कुलले अध्यापनको लागि बेलायतको इन्टरनेशनल प्राइमरी पाठ्यक्रम (आइपिसी) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेसनल मिडिल एर्स पाठ्यक्रम (आइएमवाईसी) माध्यामिक तहमा लागू गर्ने भएको छ। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्