बोलीको लबजले के बताउँछ ?



बीबीसीले सन् १९२२ को नोभेम्बर १४ मा बेलायतबाट पहिलोपटक रेडियो कार्यक्रम प्रसारण गरेको थियो । त्यो कार्यक्रम रेकर्ड नगरिएकाले आज सुन्न सम्भव छैन तर पनि हामीलाई यसबारे जानकारी छ । यो कार्यक्रम मानक उच्चारण (रिसिभ्ड प्रोनन्सिएसन) वा दरबारिया अंग्रेजी (क्विन्स इङ्लिस) अर्थात् त्रुटिरहित अंग्रेजी उच्चारणमा प्रसारण गरिएको थियो । त्यतिबेला कार्यक्रममार्फत सम्प्रेषण गरिएको भाषालाई सम्भ्रान्त वर्ग, शक्ति र राजकीय सत्ताको भाषा मानिन्थ्यो ।

मेलिस्सा अगेन्बुम्

बीबीसीले वर्षौंसम्म मानक उच्चारणमा आधारित उच्चारणलाई मात्र प्रसारण हुन दियो । यो मानक उच्चारण बेलायतको आवाजको पर्यायवाची जस्तै भयो । मानक उच्चारणलाई विश्वास मात्र गरिएन, यस्तो उच्चारण एकाधिकारवादी र स्वच्छ छ भन्नेसमेत ठानियो । बीबीसीबाट यसको प्रसारणमा अंग्रेजी भाषाका क्षेत्रीय भेदहरूको प्रसारणलाई न अनुमति दिइयो, न त यिनीहरूलाई प्रोत्साहन नै गरियो । यसरी बीबीसीका भिन्नभिन्न श्रोता र यसका कार्यक्रममा नयाँ मानिसलाई आकर्षण गर्ने कुनै प्रकारको लक्ष लिइएन ।

आजभोलि बीबीसीले मानक उच्चारणमा मात्र प्रसारण गर्दैन तथापि बीबीसीको कुनै कालखण्डमा रहेको उच्चारणसम्बन्धी यस्तो पूर्वाग्रह आज पनि समाजमा सुषुप्त रूपमै भए पनि कायमै छ । बोलीको लबज हाम्रो सामाजिक पृष्ठभूमि र अन्ततः हाम्रो भाषिक भेदभावको माध्यम बन्न पुग्छ । भाषाका बारेमा हाम्रा झुकाव निकै बलिया हुन्छन् । यसले उच्चारणका आधारमा कुनकुन व्यक्ति विश्वसनीय छन् वा छैनन् भन्ने बुझाइमा समेत प्रभाव पार्छ ।

मानिसहरूले बोलीको लबजको मूल्यांकन तुरुन्तै गर्छन् तर आफ्नो लबजप्रति त्यति सचेत हुँदैनन् । सेन्ट्रल फ्लोरिडा विश्वविद्यालयका अनुसन्धाता जे वांकाका विचारमा लबजले स्वाभाविक रूपमा तुरुन्तै र अचेतन किसिमले सामाजिक वर्र्गीकरण गर्ने गर्छ । कसैले हामीलाई सम्बोधन गर्नासाथ वक्ताको लबजको परिचय पाइहाल्छौं ।

उच्चवर्र्गीय लबज भावशून्य र अहंकारी भएको मानिन्छ । यही कारणले हुन सक्छ बेलायतकी महारानीले उनको राजकीय उच्चारणलाई विगतका दसकहरूमा क्रमसः कम गर्दै र परिवर्तन गर्दै आएकी छन् ।

लबजप्रतिको विश्वास व्यक्तिको शैशवावस्थादेखि नै सुरु हुन्छ । जन्मपूर्व नै भाषाप्रतिको सम्बन्ध सुरु हुन्छ भन्ने तर्कका लागि ठोस प्रमाणचाहिँ अहिलेसम्म पाइएका छैनन् तथापि बच्चाले आमाको गर्भमै रहँदा सुनेको भाषा मन पराउँछन् भन्ने मान्यता भने छ । एउटा अध्ययनमा अनुसन्धाताले आमा गर्भवती रहँदा कुनै काल्पनिक शब्द गर्भको शिशुलाई दोहोर्‍याएर सुनाए । बच्चा जन्मेपश्चात् गर्भावस्थामा यस्ता काल्पनिक शब्द सुनेको बच्चाको मस्तिष्कको स्क्यान गर्दा यस्ता शब्दप्रति प्रतिक्रिया दिएको पाइयो ।

बच्चाहरू जन्मेको केही महिनादेखि नै भाषा र भाषिका छुट्याउन सक्षम हुन्छन् । उनीहरूले आफ्नो भाषा बोल्ने मानिससँग निकटको सम्बन्ध स्थापित गर्न सुरु गर्छन् । हार्वड विश्वविद्यालयमा सन् २००७ मा गरिएको एउटा अध्ययनमा टेलिभिजन पर्दामा कुनै एउटा बच्चालाई आफ्नै भाषा र विदेशी भाषामा बोलेको हेर्न र सुन्न लगाइयो । त्यही समयमा पर्दामा देखिएका मान्छेहरूले जादुजस्तै गरेर बच्चालाई खेलौना दिन खोजे । बच्चाले चाहिँ आफ्नो भाषा र लबजमा बोल्ने मान्छेले दिएको खेलौना मन पराए र लिन खोजे । हाल कर्नेल विश्वविद्यालयमा कार्यरत यस विषयका अध्येता क्यादरिन्ज किन्ज्लेरका विचारमा बच्चाहरूले जीवनको पहिलो वर्षदेखि नै भाषिक आधारमा यस प्रकारका सामाजिक प्राथमिकता देखाउन खोज्छन् । अन्य मानिसका तुलनामा बच्चाहरू उनीहरूसँग सुपरिचित बोली हुने मान्छेका नजिक जान रुचाउँछन् ।

किन्ज्लेर लबज अध्ययनका क्षेत्रमा अझै पनि कम अध्ययन भएको बताउँछिन् । जसरी वंश र लिंगसँग हाम्रो परिचय जोडिएको हुन्छ, लबज पनि त्यसैगरी आफ्नो परिचयसँग गाँसिन्छ । केही बच्चाका हकमा चाहिँ वंशभन्दा पनि लबज सामूहिक परिचयको निकै शक्तिशाली हिस्सा हुने गरेको किन्ज्लेर स्विकार्छिन् । एउटा अध्ययनमा पाँच वर्ष समूहका बच्चाहरूलाई श्वेत र अश्वेत बच्चा‍हरूको फोटो देखाउँदा आफ्नै वर्णका बच्चाहरूलाई उनीहरूले मन पराएको पाइयो । यो उमेर समूहका बच्चाहरूले वयस्कले जस्तै पूर्वाग्रह नियन्त्रण नगरेको पाइएको किन्ज्लेर बताउँछिन् ।

अर्कोतिर जब मान्छेको वर्ण लबजसँग तुलना गरियो, उनीहरूले समान वंशभन्दा पनि आफ्नो लबजमा बोल्नेलाई मन पराए । यस तथ्यले सुपरिचित लबजलाई नै शैशवावस्थामा बढी विश्वास गरिन्छ भन्ने देखिन्छ । किन्ज्लेरका विचारमा हामी जसरी बोल्छौं त्यसरी नै बोल्ने अन्य व्यक्तिलाई बढी विश्वास गर्छौं । यिनीहरूसँग नै हाम्रा समुदायका बारेमा बढी जानकारी हुन्छ । अर्कोे एउटा अध्ययनमा बच्चाहरूले आफ्नो लबजमा बोल्ने भाषालाई विदेशी लबजमा बोलिने भाषाभन्दा बढी विश्वास गरेको उनले पत्ता लगाएकी छन् ।

बालबच्चा विस्तारै हुर्कंदै जाँदा उनीहरू विभिन्न सामाजिक प्रतिष्ठा तथा रुढिवादी विचारसँग गाँसिएको लबजसँग अभ्यस्त हुँदै जान्छन् । बेलायतका सन्दर्भमा मानक उच्चारण शक्तिशाली र उच्चकोटीको जस्तो लाग्छ भने लन्डनबासी मजदुरहरूले बोल्ने लबजको अंग्रेजी बोल्नेहरूले भाषिक पूर्वाग्रहको अनुभूति गर्नुपर्ने हुन्छ । बर्गिङ्गममा बोलिने अंग्रेजीको लबज अझै निम्नस्तरको ठानिन्छ । टेलिभिजन कार्यक्रमहरूमा बर्गिङ्गमका बासिन्दालाई ढिला, अल्छी अनि मोटा भनेर चित्रण गरिने कारणले पनि यहाँको लबज निम्नस्तरको ठानिएको हुन सक्छ । एउटा सर्वेक्षणको परिणाममा बर्गिङ्गमको लबज सबैभन्दा नराम्रो र आयरल्यान्डको लबज (आइरिस् एक्सेन्ट) सबैभन्दा राम्रो मानेको पाइएको छ ।

कुन लबजलाई विश्वास गर्ने भन्ने विषयमा दुई कुराको मूल भूमिका रहेको हुन्छ । पहिलो– लबजले आंशिक रूपमा तपाईंको प्रतिनिधित्व गर्छ । आफू वयस्क हुँदै जाँदा तपाईं आफूले बोल्न चाहने झनै प्रतिष्ठित तर बनावटी लाग्ने लबजसँग र आफूले बोल्ने लबजबीचमा टकराव सुरु हुन सक्छ । सन् २०१३ मा चार हजार मानिसका बीचमा गरिएको सर्वेक्षणमा मानक उच्चारण र डेभोन् लबज (डेभोन् एक्सेन्ट) सबैभन्दा बढी विश्वसनीय भएको पाइएको थियो । अर्कोतिर लिभरपुलमा बोलिने लबजचाहिँ कम विश्वसनीय भएको भेटिएको थियो । पूर्र्वी लन्डनको लबज (कक्नि एक्सेन्ट) कम विश्वसनीयमध्येको दोस्रो स्थानमा रहेको पाइयो । बुझ्न सक्नेसँग कुराका आधारमा भने यी लबजले समान प्रकारको अंक प्राप्त गरेका थिए ।

यी नतिजा तत्कालै निकालिएका चित्र (स्न्यापसट्) मात्र हुन् । वास्तविक जीवनमा लबजप्रतिको विश्वास समयक्रमसँगै सामाजिक दायरा अनि दैनिक जीवनका सम्बन्धअनुसार बदलिँदै जान्छ । प्लिमथ विश्वविद्यालयकी प्राध्यापक इलारिया टोर्रेले गरेको अध्ययनमा लबजप्रतिको विश्वास पहिलो प्रभाव (फस्ट इम्प्रेसन) र विचारले निर्धारण गर्ने बताएकी छन् । उनका अध्ययनमा सहभागीले मानक अंग्रेजी लबज अर्थात् कम विश्वसनीय लिभरपुलको लबजको बोली सुनेका थिए । यस अध्ययनमा सहभागी वक्ताहरूले पहिला विश्वसनीय ठानिएको लबज बोल्ने अनि त्यसैअनुसारको भाषिक व्यवहार देखाए भने उनीहरूको विश्वसनीयताको धारणामा वृद्धि भएको मानियो ।

अर्कोतिर सहभागीहरूले विश्वसनीय लबज बोल्ने तर अविश्वसनीय किसिमले भाषिक व्यवहार प्रस्तुत गरे भने यस अवस्थालाई झनै कम विश्वसनीय भएको मानियो । यस्तो अवस्थालाई कम विश्वसनीय ठानिएको लबज र व्यवहारभन्दा पनि झनै कम विश्वसनीय भएको मानियो । टोर्रेले यस्तो भाषिक अवस्थालाई सजाय दिएको र सहभागीहरूको अपेक्षाअनुसार व्यवहार प्रस्तुत गर्न नसकेको मानिन् । भाषिक व्यवहारमा अर्कोतिर यसको ठीक विपरीत परिणामसमेत देखियो । कुनै लबज अविश्वसनीय मानिए पनि उनीहरूले त्यसप्रति राम्ररी भाषिक व्यवहार देखाए भने उनीहरूको पूर्वबोध (प्रिकन्सेप्सन) लाई व्यवहारमा उल्ट्याउन सकेको देखियो । कम विश्वसनीय ठानिएको लिभरपुल लबज बोल्नेहरूले राम्ररी भाषिक व्यवहार गरेकामा छुट पाए ।

टोर्रेको यस अध्ययनले यसअगाडिका अध्ययनमा ध्यान नदिइएका केही विषय देखाउँछ । हामीले सुरुमा लबजका आधारमा शंकास्पद मानेका वक्ताहरूको लबजप्रतिको पूर्वाग्रह उनीहरूसँग हेलमेल गरेर न्यून गर्न सकिन्छ । टोर्रेका विचारमा भिन्नभिन्न लबजमा बोल्ने वक्ताहरूसँगको पारस्परिक अन्तरक्रिया गरेर हामीले हाम्रा भाषाप्रतिका पूर्वाग्रहहरू कम गर्न सकिन्छ । कुनै लबजको हाम्रो विश्वसनीय बोध परिवर्तन हुन सक्छ भन्ने महसुस गर्न सक्छौं ।

यस विषयमा सञ्चारमाध्यमको समेत अहम् भूमिका रहन्छ । बेलायतका माक्र्स र स्पेन्सरजस्ता बहुराष्ट्रिय स्टोरहरूले यिनीहरूको विज्ञापनमा मानक उच्चारणको प्रयोगले ग्राहकलाई सन्तुष्ट गराउने खालको लबजको प्रयोग गरिन्छ भने आइसल्यान्डजस्ता सुपथ पसलले म्यानचेस्टर र लिभरपुलबीचको सहरमा हुर्केकी पूर्व पपस्टार केरी काटोनाको लबज प्रयोग गर्छन् । पूर्व पपस्टार केरी काटोनालाई लागूऔषध आरोपमा मुछिएपछि यस प्रकारको विज्ञापनबाट हटाइएको थियो ।

बेलायतमा केही शिक्षकहरूलाई क्षेत्रीय लबजको प्रयोग कम गर्न तथा लबज बदल्न भन्नेसमेत गरिन्छ । म्यानचेस्टर विश्वविद्यालयकी अलेक्जान्द्रा बाराट्टाले गरेको अध्ययनमा केही मानिसले क्षेत्रीय लबजलाई कम शिक्षित भएको मान्छन् भने अरूले यी लबजलाई सम्पर्कमा भएको, इमानदार र मित्रवत् भएको स्विकार्छन् । उच्च वर्र्गीय लबज भावशून्य र अहंकारी भएको मान्छन् । यही कारणले हुन सक्छ बेलायतकी रानीले उनको राजकीय उच्चारणलाई विगतका दसकहरूमा क्रमशः कम गर्दै र परिवर्तन गर्दै आएकी छन् । केही अध्ययनमा लन्डनबासीको भन्दा योर्कसायरका बासिन्दाको लबज उपयुक्त भएको बताइन्छ । लबजप्रतिको यस प्रकारका पूर्वाग्रह विदेशी लबजको पूर्वाग्रहविरुद्धसमेत प्रयोग हुने गर्दछन् । जे वांगो अनुसन्धानमा संयुक्त राज्य अमेरिकाका बासिन्दाले भारतीयभन्दा बेलायती लबजलाई विश्वास गरेको देखाइन्छ । उनका विचारमा मानिसमा सामान्यतः गैरमानक लबजप्रति र मूलरूपमा पिछडिएको र न्यून प्रतिष्ठा भएको अल्पसंख्यक समूहप्रति नकारात्मक पूर्वाग्रह हुन्छ । उनले मानक अमेरिकी लबजका तुलनामा मेक्सिकन र ग्रिक लबजलाई कम बुद्धिमान र पेसागत ठानिएको पाएकी छन् ।

अर्को एउटा अध्ययनले लबजले हाम्रो पेसागत अवसरसमेत सीमित पार्ने देखाइएको छ । सामान्यतः जर्मन भाषाका भाषिकाहरू एउटै हुन् भन्ने आमबुझाइ भए पनि मानक जर्मन भाषाका तुलनामा यसका क्षेत्रीय भेदहरूलाई कम मन पराइन्छ तथापि स्विजरल्यान्डका बासिन्दाले भने मानक जर्मन लबजमा बोल्ने शल्यचिकित्सकभन्दा यसका क्षेत्रीय भेद बोल्ने शल्यचिकित्सकलाई मन पराउँछन् । यसका पछाडि स्विजरल्यान्डमा जर्मन भाषाको एउटा क्षेत्रीय भाषिका बोलिने कारणले यस्तो भएको हुन सक्छ ।

हामी के जान्दछौं र समाजले हामीलाई कुन लबज जान्न मन लाग्ने बनाउँछ भन्ने कुराले मूल रूपमा कुन लबजलाई विश्वास गर्ने भन्ने कुरा निर्धारण गर्छ । यति हुँदाहुँदै पनि केही समय रोकिएर भाषाका कुनै भिन्न दुई लबजलाई पालैपालो सुन्यौं भने जन्मपूर्वदेखिका हाम्रा पूर्वाग्रहलाई आधार मान्नुभन्दा बहुसांस्कृतिक संसारमा बोलिने विविध लबज सुन्न लालायित हुन्छौं ।

(बीबीसी न्युजमा ९ मार्च २०१८ मा प्रकाशित मेलिस्सा अगेन्बुम्को ‘ह्वाट डज योर एक्सेन्ट से एबाउट युु’ लेखको डा. दुबि नन्द ढकालले गरेको अनुवाद)

प्रतिक्रिया दिनुहोस्