‘सबैजना महिला डकर्मी हेर्ने भन्दै आउँछन्’



 

काठमाडौं, ६ चैत

विगतमा पुरूषले मात्र गर्ने काम भनेर लिने गरिएको डकर्मी पेशा अचेल महिलाले पनि गर्न थालेका छन्। यो पेशामा संलग्न महिलाबारे यकिन तथ्याङ्क नभए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५० हजार डकर्मी र सिकर्मीलार्इ तालिम दिँदा करिब २० प्रतिशत महिला पनि सहभागी भएको जनाएको छ।

यो पेशामा दैनिक राम्रो कमाइ हुने गरेकोले पनि महिलाहरूको संलग्नता बढ्न थालेको बताइन्छ। घरको तला पुर्न तयार गदै गरेकी सीता रार्इले धरानमा डकर्मी काम गर्न थालेको २४ वर्ष भयो।

मजदुरी

विभिन्न प्रकारका निर्माण कार्यमा महिलाहरू मजदुरीमा संलग्न छन्। तीमध्ये डकर्मी महिलाको संख्या कम भए पनि सहभागिता बढ्दै गएको रार्इ बताउँछिन्।

सिमेन्ट बोक्ने र मुछ्ने काम गर्दा-गदै कतिपय महिलाहरूले डकर्मी काम सिकेको बताए। उनीहरूले दैनिक आठ घण्टा काम गर्दा ९ सय ५० देखि एक हजार रुपैयाँ कमाउने गरेको धरान १६ की गौरी तामाङले बताइन्।

महिला
उनले भनिन्, “आँटको कुरा पनि हो। गर्छु भनेपछि गरिँदोरहेछ। महिला हुँदैमा किन पछि पर्नु?” अधिकांश पुरूष डकर्मी मात्रै देखिने भएकाले काम गर्ने स्थलमा डकर्मी महिलाहरूको काम हेर्न कतिपय मानिसहरू आउने गरेको सीता रार्इले बताइन्।

आयआर्जन

राईले भनिन्, “जहाँ काम गर्न जाँदा पनि मान्छेहरू हेर्न आइपुग्छन्। महिला पनि मिस्त्री हुँदारहेछन् भन्छन्।” राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पबाट ध्वस्त भएको घरहरूको निर्माणका लागि गत वर्ष ५० हजार डकर्मी र सिकर्मीलार्इ तालिम दिएको थियो।

त्यसमध्ये २० प्रतिशत जति महिलाले पनि तालिम लिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए। उनले भने, “डकर्मी तालिमका लागि छनोट गर्दा उपलब्ध भएसम्म धेरै महिलालाई समावेश गराउने हाम्रो नीति छ। तालिम लिएका धेरै महिलाहरू काममा संलग्न रहेको अवस्था छ।”

घरको गर्जो टार्न र छोराछोरीको अध्ययनका लागि आयआर्जनको बाटोमा बिस्तारै महिलाहरुको सहभागिता बढेको देखिन्छ।यसले महिलाहरूमाथि हुने विभिन्न किसिमका घरेलु हिंसा र विभेद कम गर्न भूमिका खेल्ने महिला अधिकारकर्मीहरूको ठम्याइ छ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्