आमा छोरा सँगै एउटै स्कूलमा



सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । उनको तीन वर्षीय छोरा रिदम पनि सँगै छन् । आमा ९ कक्षामा पढछिन् भने छोरा रिदम नर्सरीमा ।

बिहान १० नबज्दै र दिउँसो ४ बजेपछि दुईवटा झोला दुईपट्टि, पिठ्युँमा छोरा बोकेर स्कुल आउनु र डेरामा फर्कनु उनको दैनिकी हो ।

साबिक मराङ गाविसस्थित जनविकास माविमा ८ कक्षा पढदै गर्दा १४ वर्षको उमेरमा उनको परिवारले पल्लो गाउँ साबिक रुम गाविस–२ खबाङका २८ वर्षे किरण परियारसँग विवाह गरिदिएको हो ।

१५ वर्षकै उमेरमा उनी आमा बनिन् । स्कुल जाने क्रम छुट्यो । ‘बाबा–आमाले बिहे गर्नुपर्छ, हामीले टीकाटालो गरिसक्यौं भनेपछि म पनि खुरुखुरु गएँ । विवाह भन्ने नै थाहा भएन । गर्भवती भएपछि बल्न चेत खुल्यो,’ उनले भनिन् ।

बिहेपछि पढाइ छुटेकी उनी चारवर्षपछि मात्र विद्यालय जान थालिन् । गत वर्ष डालेघाँस काट्ने क्रममा भूमिका लडिन् र ढाड भाँचियो । ६ महिनासम्म आफैं दिसा–पिसाब स्याहार्न नसक्ने गरी घाइते भइन् ।

लामो उपचारपछि भूमिकाको ढाडमा केही सन्चो त भयो तर पूरै सोझो नहुने भयो । उपचारमा धेरै खर्च भएपछि परिवारमा कचकच पनि थपियो । अब उनलाई पढेर सक्षम हुनुपर्छ भन्ने लाग्न थाल्यो ।

घाइते भएपछि गाउँमा खेतीपाती र बस्तुभाउ सम्हालेर जीविकोपार्जन गर्ने अवस्था रहेन । त्यसैले भूमिकाले निर्णय गरिन्, सदरमुकाम झर्ने र पढाइलाई निरन्तरता दिने । सदरमुकाम बेनीमा एउटा कोठा भाडामा लिई डेरामा बस्दै विद्यालयको पढाइलाई पुन: निरन्तरता दिएकी उनका पति किरण रोजगारीका लागि अहिले कुवेतमा छन् ।

‘उनमा दृढ इच्छाशक्ति र उच्च मनोबल छ । भूमिकाको समस्यालाई ख्याल गरी उनको पढाइलाई कभर गराउन कक्षामा पनि चासो राख्ने गरेका छौं,’ विद्यालयका सहायक प्रध्यानाध्यापक लेखबहादुर हमालले भने ।

प्रतिक्रिया दिनुहोस्