संघर्षबाट सफलतामा पुगेका गोल्ड मेडलिस्ट जोडीको प्रेम कहानी (भिडियो सहित)



१३ माघ  २०७४, काठमाडौं

त्रिभुवन विश्वविद्यालयबाट शिक्षा संकाय अन्तर्गत गणित विषयमा सर्वोत्कृष्ट ७३.४० प्रतिशत अंक हासिल गरे बापत प्रधानमन्त्री शेरबहादुर देउवाबाट ४३ औं दिक्षान्त समारोहमा पदक ग्रहण गरेका प्रेमप्रसाद दाहाल र सोहि कार्यक्रममा मानविकी संकायको नेपाली विषयतर्फ सर्वोत्कृष्ट ६८.२० प्रतिशत अंक प्राप्त गरे बापत पदक ग्रहण गरेकी लक्ष्मी सुबेदी श्रीमान श्रीमती हुन् ।

श्रीमान प्रेम र श्रीमती लक्ष्मी दुवै ४३औं दिक्षान्त समारोहमा ‘गोल्ड मेडलिस्ट’ हुन् । दुवैजनाले कहिल्यै बोर्डिङ स्कुलको मुखसम्म देखेनन्, सधै सरकारी स्कुल र कलेजमा पढे तर बोर्डिंगसँग प्रतिस्पर्धा गरे। उनीहरु दुबैजनामा सरकारी स्कुलमा पढेको र नीजिमा पढाएको मात्र अनुभव छ ।

परिवारमा सधै चकचके स्वभाबका प्रेम केहि न केहि चकचक गरिरहन्थे र बुबाको कुटाई खाइरहन्थे । बहिनीलाई दिनमा एक पटक नरुवाई चित्त नबुझ्ने प्रेमको बानि थियो ।

पारिवारिक स्थिति भने सामान्य मात्र थियो । खानका लागि जसोतसो पुग्ने खेतबारी मात्र थियो, छोराछोरीलाई खर्च गरेर पढाउने अवस्था थिएन । सधैं अभावमा जिउने किसानी परिवारमा पढ्नुपर्छ भन्ने धारणा नै थिएन उनको बुबाआमाको ।

काठमाडौंको कुमारीगालमा रहेको श्रम राष्ट्रिय नौ कक्षाको पहिलो र दोश्रो त्रैमासिक परिक्षामा गणित विषयमै फेल भएका प्रेमले बढो मेहनत गरे र अन्तिम परिक्षामा प्रथम भए। र एसयालासिमा फस्ट डिभिजनमा पास गरे।

लक्ष्मी पनि विपन्न परिवारमै धादिङको गजुरीमा जन्मिएकि हुन् । स्कुलले ‘गरिब तथा जेहेन्दार’ विद्यार्थीलाई दिने छात्रवृत्तिबाट उनलाई पढाइमा मद्धत पुगेको थियो । उनीसँग अरु खाना खाएर स्कुल जाँदा आफू भोकै गएको अनगिन्ती सम्झना जिवितै छ । सबै साथीहरु खाना खाएर स्कुल जादा उनी भने  भोकौं जान्थिन । १ बजे टिफिन टाइममा घर आएर बासि ढिँडो खाने गर्थिन । लक्ष्मीले खर्च नभएर कहिल्यै ट्युसन पढिनन्। उनले सेकेन्ड डिभिजनमा एसएलसी पास गरिन ।

पशुपति क्याम्पसमा शुल्क महंगो भएकाले उनलाई चाबहिलको कैलाशकुट क्याम्पस भर्ना गरिन। उनले गणित विषय लिएर पढ्न खोजेकी थिइन्, भर्ना भएपछि थाहा भयो कैलाशकुटमा नेपाली बाहेक पढाइ नहुने भएकोले शिक्षा संकायमा नेपाली मुख्य विषय राखेर पढिन्। दोश्रो श्रेणीमा ११, १२ पास गरिन्।

घरपरिवारले काठमाडौंमा छुट्टै कोठामा राखेर पढाउने हैसियत नभएले प्रेम मामासँग बस्थे तर एसएलसी पास गरे पछि पनि मामासँग बसिरहन उचित ठानेन । पढ्ने विकल्प खोज्ने क्रममा उनी आर्यघाटको ब्रह्मनाल नजिकैको बैधखाना छेउको श्याम चैतन्य बाबाको आश्रम पुगे । घरमा रोइकराइ गरेर ८–९ हजार मगाए, त्यसैले पशुपति बहुमुखी क्याम्पसमा भर्ना भए। बाँकी खानाको बन्दोबस्त आश्रमले गरिदियो । आश्रममा चैतन्य बाबाका भक्त गौरव पुरीको सेवा गर्थे । प्रेम लगायत ५ जनाले बाबाका लुगा धोएर, खाना पकाएर सेवा गर्थे। सेवा गरे बापत उनीहरुलाई खाना र पढाइ खर्चको जोहो हुन्थ्यो।

घाट नजिकको बास, खाने बेलामा मान्छे पोलेको गन्ध र मध्यरात एकछिन बाहेक हल्लैहल्ला हुन्थ्यो । ९ र १० कक्षामा गणित पढ्न नपाएका उनले कि पास हुन्छु कि फेल हुन्छु भनेर प्लस टु मा ऐच्छिक विषय गणित राखेका थिए। आश्रममा पेट त जसोतसो भरिन्थ्यो। तर किताब, कापी किन्ने पैसा हुँदैनथ्यो। ९, १० कक्षामा गणित विषय नराखेका कारण शुरुमा उनलाई निक्कै गाह्रो भयो। उनलाई जसरी पनि गणित नै पढ्नुथियो। रातदिन घोटिन थाले।उनी कान्तिपुर पत्रिका किनेर खाली ठाउँ खोज्दै म्याथको प्राक्टिस गर्थे । यसरी पढेर उनले ११ कक्षामा पशुपति क्याम्पसको शिक्षा संकाय नै टप गरे।

जाडो महिनामा पशुपति क्याम्पसमा कालो रङको ज्याकेट लाउनुपर्ने नियम थियो। ज्याकेट किन्न जसोतसो २५० रुपैयाँ जम्मा गरेर चाबेलको फुटपाथमा पुगे। बार्गेनिङ र  याचना गर्दा पनि पसलेले ३०० भन्दा कम मुल्यमा ज्याकेट दिएन । त्यसवर्ष ज्याकेट बिनै कटाए। जाडोले उनको सपनालाई छेक्न सकेन। बाह्र कक्षामा पनि उनले नै टप गरे। संकाय टप गरेका कारण कलेजलाई तिरेको उनको पैसा फिर्ता भयो। स्नातक तहका तिनै वर्ष उनैले कक्षा टप गरे।

स्नातक पढ्न थालेपछि प्रेमले इन्स्टिच्युटमा ट्युसन पढाउन थाले। तेश्रो वर्षमा पढ्दै गर्दा पार्टटाइमका रुपमा तीनवटा बोर्डिङ पढाउन थाले। बोर्डिङको पारिश्रमिकले खर्च टर्न थाल्यो, त्यसपछि उनले ५ वर्ष बिताएको आश्रम छाडिदिए र कोठामा बस्न थाले।

स्नात्तकोत्तरका लागि उनले महेन्द्ररत्न क्याम्पस ताहाचलमा भर्ना गरे । पेट आफैंले पाल्नुपर्ने भएकोले उनी क्याम्पस कम बोर्डिङ ज्यादा जान्थे। यसैगरी पढेर उनले स्नात्तकोत्तरमा शिक्षा संकाय टप गरे।

स्नातक पढ्दै गर्दा लक्ष्मीकी बहिनीको निधन भयो, उनी विक्षिप्तजस्तै बनिन्। त्यसैले पढाइ बिग्रियो। उनी दोश्रो वर्षमा समाजशास्त्र विषयमा फेल भइन्। तेश्रो वर्ष सहजै पास भइन्। स्नातक दोश्रो वर्षदेखि नै उनले पनि खर्चको जोहोका लागि बोर्डिङ स्कुल पढाउन थालेकी थिइन्। स्नातकसम्म मध्यम स्तरकी विद्यार्थी श्रीमान प्रेमप्रसादको मुख्य प्रेरणाले एकाएक स्नातकोत्तरमा सर्वोत्कृष्ट भइन्।

कपनको विद्यासदन हाइस्कुलमा प्रेमप्रसाद दाहाल र लक्ष्मी सुबेदी सँगै पढाउने गर्थे । लक्ष्मी नेपाली र प्रेमप्रसाद गणित पढाउने गर्थे । यहि क्रममा प्रेमप्रसादको मनभित्र विस्तारै लक्ष्मी धड्किन थालिन् ।

एकदमै थोरैमात्र औपचारिक कुराकानी हुन्थ्यो उनीहरुबीच । तर पनि प्रेमप्रसाद लक्ष्मीले पढाएको सुन्नकै लागि ८ बजे स्कुल पुग्नुपर्नेमा  ७:३० मै स्कुल पुगिसक्थे।

त्यतिबेला प्रेम दाहालको मनमा लक्ष्मीप्रतिको माया गाढा भइसकेको थियो ।बन्ने आँट भने थिएन । जसोतसो नम्बर खोजे स्कुलकै रजिस्टरमा तर लक्ष्मी नाम गरेको दुइ जना । उनलाई आफ्नो लक्ष्मीको थर थाहा थिएन त्यै पनि सुबेदी हो भन्ने पत्तो लगाएर नम्बर लागे । एकदिन उनले सिन्धुलीको खुर्कोट पुगेर म्यासेज गरे, ‘लक्ष्मी जी तपाईँसँगै जिउने विचार गरें मैले’। तर पठाउनेको नाम लेखेनन् ।

प्रेमको यो सबै कुरा लक्ष्मीलाई थाहा थिएन।  प्रेमप्रस्ताव राखेको देखेर लक्ष्मी छक्क परिन् । निक्कै दिनसम्म उनले कुनै जवाफ दिइनन्। तर बारम्बार प्रेमले उत्तर मागिरहे।

विस्तारै लक्ष्मीको मनमा पनि प्रेम टुसाउँदै गयो। तर उनी भनिहाल्न सक्दिनथिन् । यत्तिको मान्छेसँग विवाह गर्दा उपयुक्त हुन्छ भन्ने सोच्न थालिन ।

एकदिन ताहाचलबाट गाडीमा घर फर्किंदै गर्दा मोबाइलको म्यासेजबाट डराई डराई प्रेम-प्रस्ताब राख्ने प्रेमलाई विस्तारै बोलाइन् र कानमा खुसुक्क भनिन्, ‘आइ लभ यू प्रेम ।’

हेरौ उनीहरुसंग परिवर्तन खबरका सम्वाददाता एटमले गरेको रमाइलो कुराकानी :

https://www.youtube.com/watch?

https://www.youtube.com/watch?

https://www.youtube.com/watch?

 

 

 

प्रतिक्रिया दिनुहोस्