आरन व्यवसायबाट मनग्य आम्दानी



बैतडी, १३ माघ : पछिल्लो समय लोप हुँदै गएको आरन पेशाबाट यहाँका एक व्यक्तिले मनग्य आम्दानी गरिरेहका छन् ।

परम्परागत रुपमा दलित समुदायले गर्दै आएको कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा लोप हुँदै गएको बेला यसलाई व्यावसायिक रुपमै सञ्चालन गर्ने हो भने राम्रो आम्दानी हुने उदारहण प्रस्तुत गरेका छन् पुर्चौडी नगरपालिका–५ कुवाकोटका दिले लुहारले ।

बाउबाजेको पालादेखि घरमै आरन व्यवसाय गर्दै आएका लुहारलाई कृषि औजार र मूर्ति बनाउन कुनै तालीम लिनु परेन । घरमै आरन उद्योग सञ्चालन गरेका लुहारले कुटो, कोदालो, फरुवा, बन्चरो, हँसिया, खुकुरी, दावा, खुर्पालगायतका घरायसी कृषि औजार र देवीदेवताका मूर्ति बनाउने गरेका छन् । साथै उनले फलाम, तामा र सिल्भरका विभिन्न डिजाइनका भाँडाकँुडा जस्तै गाग्री, लोटा, डाडु, पन्यु डेक्ची, कडाई, अम्खोरा, करुवालगायत पनि बनाउने गरेका छन् ।

यो व्यवसायबाट उहाँले मासिक रु ३० हजारसम्म आम्दानी गर्ने गरेको छ । सीप र जागर भएमा गाउँमै स्वरोजगार बन्न सकिने आरन व्यवसायी लुहारको भनाइ छ । महिनाको रु ३० हजारसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयोे, “मेहनत गर्नसके स्वरोजगार बन्न सकिँदो रहेछ ।”

पछिल्लो समय जिल्लामा कृषि व्यवसाय विस्तार हुँदै जाँदा कृषि औजारको पनि माग बढेकाले अहिले यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको व्यवसायी लुहारले बताउनुभयो । परम्परागत रुपमा आफ्नै बाउबाजेले गर्दै आएको पेशा, व्यवसायलाई आधुनिकीकरण गर्ने हो भने आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण उहाँले दिएका छन् ।

आरन पेशा व्यावसायिक बनेपछि अहिले घरखर्च चलाउन सहजभएको लुहारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्