मासिक २ करोड भाडामा निगमले एउटा इन्जिन लिने



काठमाडौं, ८ माघ

करिब एक महिनादेखि भारतको नयाँदिल्लीमा थन्किएको एउटा जहाज उडाउन महिनाको औसत २ करोड रुपैयाँ तिर्ने गरी एकथान इन्जिन भाडामा लिने निर्णय नेपाल वायुसेवा निगमले गरेको छ ।

युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग निगमले २०७१ माघ २५ गते खरिद गरी ल्याएको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको उक्त जहाज गत पुस १० देखि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । उक्त जहाज उडाउन निगमले एकथान इन्जिन भाडामा लिन लागेको हो ।

जहाजको बायाँ इन्जिनले पूर्णरूपमा काम गर्न छाडेपछि नयाँ वा ‘सेकेन्ड ह्यान्ड’ इन्जिन फेर्ने, त्यसैलाई मर्मत गर्ने र भाडामा लिने विकल्प निगमसँग छन् । तर, नयाँ इन्जिन खरिद गर्नुपरे १ अर्बभन्दा बढी र सेकेन्ड ह्यान्ड लिए ६० करोड रुपैयाँहाराहारी पर्ने छ । त्यसकारण निगम व्यवस्थापनले भने भाडामा लिने विकल्प रोजेको छ । यो विकल्पलाई निगम सञ्चालक समितिले अनुमोदन गरेको छ ।

‘दिल्लीमा ग्राउन्डेड जहाज उडाउन एकथान इन्जिन भाडामा लिने निर्णय गरेका छौं,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आइतबार नागरिकसँग भने, ‘यसका लागि प्रतिमहिना औसत २ करोड रुपैयाँसम्म भाडा तिर्ने हाम्रो तयारी छ ।’

एकथान इन्जिन भाडामा दिन अमेरिका र युरोपका दुई कम्पनीले प्रस्ताव पेस गरेका छन् । एउटा अमेरिकाको ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई) र अर्को इन्जिन मर्मत गर्ने जर्मनीको एमटियु नामको कम्पनी हो । तीमध्ये आइएई इन्जिन निर्माता हो । हाल ग्राउन्डेड निगमको जहाजमा यही आइएईकै इन्जिन छन् ।

कंसाकारका अनुसार दुवै कम्पनीले जहाज उडाए वा नउडाए पनि मासिक चुक्ता गर्नुपर्ने, प्रतिउडान र प्रतिघन्टा उडान गरी तीनथरी भाडा दर प्रस्ताव गरेका छन् । आइएईले दिने भनेको इन्जिन बेलायतमा रहेको छ भने एमिटयुको इन्जिन जर्मनीमा रहेको छ ।

‘दुवै कम्पनीको प्राविधिक र वित्तीय प्रस्ताव मूल्यांकन गरिरहेका छौं, जसको प्रस्ताव सस्तो र उपयुक्त हुन्छ उसैको इन्जिन लिने छौं,’ महाप्रबन्धक कंसाकारले भने, ‘एक साताभित्र इन्जिन सम्बन्धी विषय टुंगो लाग्ने छ । हाम्रो जहाजको इन्जिन मर्मत नभएसम्म भाडाको इन्जिनबाट जहाज उडाउँछौं ।’
भाडामा इन्जिन दिन प्रस्ताव गर्ने दुइटै कम्पनीले निगम जहाजको बिग्रिएको इन्जिन मर्मत समेत गरिदिने प्रस्ताव पनि पेस गरेको कंसाकारले जानकारी दिए । तर, मर्मत गर्न कति खर्च लाग्छ भन्ने अहिले यकिन गर्न नसकिने उनको भनाइ छ ।

‘इन्जिन भाडामा लिनेबाहेक हामीसँग अर्को विकल्प छैन,’ उनले भने, ‘नयाँ किन्नुपरे १ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्छ र जगेडा इन्जिन राख्ने क्षमता पनि छैन । जगेडा इन्जिन राख्ने अवधारणा लगभग पुरानो भइसकेको छ । यो असाध्यै खर्चिलो पनि हुन्छ । धेरै ठूल्ठुला वायुसेवाले मात्र जगेडा इन्जिन राख्छन् ।’
कलसाइन ‘९एन–एकेडब्लु’ भएको निगमको ‘ए३२०–२००’ सिरिजको उक्त जहाज नियमित तालिकाअनुसार पुस १० गते भारतको नयाँदिल्ली गएको थियो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि जहाजको बायाँ इन्जिनमा समस्या उत्पन्न भएको थियो । निगमका इन्जिनियरहरूले धेरै प्रयास गर्दा पनि काम नगरेपछि इन्जिन फेर्नैपर्ने निष्कर्ष निस्किएको थियो ।

सम्बद्ध अधिकारीका अनुसार निगमसँग रहेका दुइटै ए३२० जहाजमा अमेरिकी इन्जिन निर्माता कम्पनी आइएईका चारथान इन्जिन छन् । जहाज एयरबसले निर्माण गरे पनि इन्जिन आइएईका हुन् । जहाज खरिद गर्दा जति मूल्य पर्छ, त्यसको ८० प्रतिशत हिस्सा दुईथान इन्जिनले ओगट्ने गर्छ ।
दिल्लीमा ग्राउन्डेड जहाजका दुईथान इन्जिनको ‘वारेन्टी’ अवधि पनि समाप्त भइसकेको छ । त्यसको वारेन्टी अवधि ७ हजार घन्टा उडान समयबराबर थियो । वारेन्टी बाँकी भएको भए आइएईले मर्मत गरेर तोकिएको समयमै दिन्थ्यो ।

निगमले पुस १० गते बिहान ८ बजे एयरबस एकेडब्लुबाट काठमाडौं–नयाँदिल्ली उडान गरेको थियो । दिल्लीबाट फर्किएपछि त्यही जहाजबाट बिहान ११ बजे बैंकक जाने तालिका थियो । दिल्लीबाट फर्किने जहाजमा बैंकक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ३५ यात्रु तयार भएर बसेका थिए । तर, ११ बजे उड्ने भनेको जहाज दिल्लीबाटै फर्किएन । एक घन्टा, दुई घन्टा गर्दै यात्रुले विमानस्थलमा १३ घन्टा कुरेपछि निगमकै अर्को जहाजबाट बल्ल मध्यरात १२ बजे बैंकक उड्न पाएका थिए ।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको एकथान तथा दुईथान ए३२० जहाज छन् । तीन जहाजबाट निगमले भारत, कतार, थाइल्यान्ड, मलेसिया, युएई र हङकङका आठ गन्तव्यमा उडान गरिरहेको छ । उसले भारतका नयाँदिल्लीका लागि सातामा सात, मुम्बई र बैंगलोर तीन–तीन तथा युएईको दुबईका लागि सातामा चार उडान गरिरहेको छ । त्यसैगरी कतारको दोहा, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, र हङकङ प्रत्येक गन्तव्यका लागि सातामा तीन–तीन उडान गरिरहेको छ । एकथान ए३२० थन्किएपछि निगमले केही गन्तव्यका उडान संख्या कटौती गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्