प्रश्नपत्र आउट गर्ने गोल्डेनगेटका निर्देशक कारवाहीमा



काठमाडौं २७, पुस ।

चार बर्ष अघि एमबीबीएस छात्रवृत्तिको प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरेको आरोप लागेका गोल्डेनगेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलाशले मुख्य योजनाकार प्रभात कुमार कुशवाहलाई ४ बर्ष कैद र ३४ लाख रुपैया जरिवाना हुने फैसला गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका दुई जनालाई भने सफाइ दिइएको छ ।

२०७१ साल मंसीरमा शिक्षा मन्त्रालयले लिएको एमबीबीएसको परीक्षामा गोल्डेन गेटका संञ्चालकले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा प्रश्नपत्र आउट गराएको ठहर विशेष अदालतले गरेको हो । यस्तै गोल्डेन गेट कलेजका निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना, शिक्षक हरिहर भनिने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाइएको छ ।

त्यसैगरी धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ लाख जरिवाना, जीवन यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैसला सुनाइएको छ ।

गोल्डेन गेट सेन्टरमा परीक्षा सुरु हुनु ६ मिनेटअघि नै प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र बिक्री भइरहेका बेला अख्तियारको टोलीले गोल्डेन गेट कलेजका निर्देशक पाण्डेलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्