सूर्तीजन्य पदार्थ नियन्त्रण रणनीति सार्वजनिक



काठमाडौँ, २८ पुस : स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।

रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सो महत्वकाङ्क्षी रणनीति तयार गरेको हो ।

केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहोराले रणनीति सार्वजनिक गर्दै नसर्ने रोगको प्रमुख कारक तत्वका रुपमा रहेको सूर्तीजन्य पदार्थ नियन्त्रण र रोकथाममा रणनीति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय, प्रदेश र केन्द्रमा रणनीतिलाई कार्यान्वयनमा ल्याउन अन्तरमन्त्रालय समन्वयको आवश्यकता औँल्याउँदै सूर्तीजन्य पदार्थ उत्पादनमा नै रोक लगाउनुपर्छ भन्नुभयो ।

सरकारले विश्व स्वास्थ्य संगठनको सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धिमा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरी सन् २००६ को नोभेम्बर ७ मा पारित गरेको थियो । महासन्धि कार्यान्वयन गर्न यससम्बन्धी ऐन तथा नियमसमेत मन्त्रालयले जारी गरिसकेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी १५ हजारको अकालमै मृत्यु हुने गर्छ । खासगरी क्यान्सर, दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेहजस्ता रोग यसको सेवनका कारणले लाग्ने गर्छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले नसर्ने रोगलाई कमी ल्याउन सूर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन आवश्यक रहेकामा जोड दिँदै रणनीतिलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोजेन्द्र पन्त र केन्द्रका निर्देशक बद्रिबहादुर खड्काले सूर्तीजन्य पदार्थको नियन्त्रणले दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

रणनीतिमा सूर्तीजन्य पदार्थको प्रयोगको अनुगमन, धुवाँरहित सार्वजनिकस्थल, सूर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहनलगायतका बुँदा रहेका छन् ।

(रासस)

प्रतिक्रिया दिनुहोस्