खतरा हुन सक्छ सिजरिङ डेलिभरी



काठमाडौँ, २३ पुस २०७४ : यौनांगबाट बच्चा जन्माउँदा आमालाई पीडा हुने डरले केही वर्षदेखि शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम तीव्र रूपमा बढ्दो छ । तर, यसरी बच्चा जन्माउँदा दीर्घकालीन रूपमा आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ । यदि शल्यक्रिया नै गर्नुपरे स्वास्थ्यमा कम असर पर्नेतर्फ ध्यान दिनुपर्छ । यस्ता छन्, शल्यक्रियाबाट बच्चा जन्माउँदाका असरहरु :

बच्चाको स्वास्थ्यमा
शल्यक्रियाबाट बच्चा जन्माउँदा बच्चामा देखिने सबैभन्दा ठूलो समस्या भनेको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनु हो ।  यस्ता बच्चामा श्वासप्रश्वासमै पनि समस्या देखिन सक्छ ।

शल्यक्रियापछि
आमाको पेट चिरेर बच्चा निकाल्दा उक्त चिरेको भागको विशेष ख्याल राख्नु जरुरी हुन्छ । नत्र, उक्त घाउ पाक्ने सम्भावना प्रबल हुन्छ । घाउ पाक्यो भने कीटाणु संक्रमण हुन्छ र गम्भीर प्रकृतिको समस्या पनि निम्तिन सक्छ । त्यसैले गम्भीर रोगबाट बच्नका लागि चिकित्सकको सल्लाहअनुसार घाउको नियमित सरसफाइ र औषधोपचार गर्नुपर्छ ।

शल्यक्रियाबाट बच्चा जन्माउँदाको अर्को समस्या भनेको रगत जम्ने पनि हो । शल्यक्रियापछि आमाको गोडा र फोक्सोमा रगत जम्ने समस्या बढी देखिने गर्छ । यस्तो भएमा श्वासप्रश्वास र नसासम्बन्धी रोग पनि लाग्न सक्छ ।

आमाको स्वास्थ्यमा
शल्यक्रिया गर्नुअघि आमाले बेहोस बनाउने औषधि प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो औषधिले वाकवाकी लाग्ने, बान्ता हुने, असाध्यै टाउको दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।

शल्यक्रिया गरेर बच्चा निकाल्दा पेट र पाठेघरको लेयर चिर्नुपर्ने हुन्छ । यदि चिकित्सकले सावधानी नअपनाएमा चिरिएको भागआसपासका अंगमा चोटपटक पनि लाग्न सक्छ । अलिकति मात्र असावधानीले पिसाबथैली, मिर्गौलालगायत संवेदनशील आंगहरूमा चोट लाग्न सक्छ । यसरी चोट लागेमा सामान्य अवस्थामा पनि पिसाब चुहिरहने समस्या हुन्छ ।

एकपटक शल्यक्रियाबाट बच्चा जन्माएकी आमाले अर्कोपटक साधारण तरिकाले बच्चा जन्माउन मिल्दैन । यसै पनि शल्यक्रियाबाट बच्चा जन्माउँदा आमाको स्वास्थ्य कमजोर बन्न पुग्छ । दोस्रोपटक बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा थप असर पुग्छ । त्यसैले शल्यक्रियाबाट बच्चा जन्माउने निर्णय गर्नुपूर्व दम्पतीले राम्रोसँग विचार गर्न आवश्यक छ ।

शल्यक्रियाबाट बच्चा जन्मिसकेपछि केही दिन अस्पतालमै रहनुपर्छ । अस्पतालमा पारिवारिक माहोल नहुन पनि सक्छ । जसले सुत्केरी स्याहारलाई प्रभावित पार्छ ।

शल्यक्रिया गरेर बच्चा जन्माउँदा रक्तश्रावबारे विशेष ध्यान दिन जरुरी हुन्छ । शल्यक्रिया गरेर बच्चा जन्माउँदा होस् वा त्यसभन्दा पछि अत्यधिक रक्तश्राव हुने गर्छ । यस्तो अवस्थामा विशेष ख्याल नगर्दा आमाको ज्यान पनि जान सक्छ ।

प्रतिक्रिया दिनुहोस्