तेह्रथुममा स्वास्थ्य संस्थाबाट प्रसूति गराउनेको संख्या बढ्दो



तेह्रथुम, १९ पुस २०७४ : तेह्रथुममा घरमै प्रसूति हुने तथा बढी जोखिम हुनसक्ने भन्दै स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलाको संख्या बढेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा जिल्लाका स्वास्थ्य संस्थाबाटै ६९० जनाले प्रसूति गराएका छन् । त्यसमध्ये ५५५ जनाले साधारण प्रसूति सेवा लिएका छन् । बाँकी ७१ जनाको प्रसूति शल्यक्रिया गरेर गरिएको छ भने ६४ जनाले आकस्मिक प्रसूति सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो संख्या अघिल्लो वर्षको भन्दा १०० ले बढी हो । जिल्ला अस्पतालमा मात्रै चालू आवको असोज मशान्तसम्ममा ११२ जनाले प्रसूति सेवा लिएका छन् ।

स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिलासमेत सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेका छन् । स्वास्थ्य संस्थामै आएर प्रसूति गराउँदा पाइने प्रोत्साहन र यातायात खर्चले समेत सहज बनाएको छ ।

स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलालाई सरकारले यातायात खर्चवापत रु एक हजार उपलब्ध गराउँदै आएको छ भने गर्भवती भएपछि नियमित जाँच गरेवापत प्रोत्साहनस्वरुप थप रु ४०० दिने गरेको कार्यालयका प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्