सन् २०१७ मा विश्वका चर्चित घटना : जसले संसार हल्लाए



एजेन्सी, पुस १७, २०७४ ।  अंग्रेजी वर्ष सन् २०१७ हामीबाट बिदा भएको छ । अन्य वर्षजस्तै यो वर्षभरि विश्वमा महत्वपूर्ण गतिविधि भए । विवादास्पद अभिव्यक्ति र निर्णयका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्षभरि नै चर्चामा रहे । ट्रम्पसँगै उत्तर कोरियाली नेता किम जोङ उन, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती प्रधानमन्त्री थेरेसा मेदेखि म्यानमारकी नेतृ आङ सान सुकीको वर्षभरि नै चर्चा भयो । प्रस्तुत छ सन् २०१७ का केही चर्चित घटना : अाजकाे नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

उतर कोरियाको आणविक मोह
अघिल्लो वर्षमा जस्तै सन् २०१७ मा पनि उत्तर कोरियाले शृंखलाबद्ध रूपमा आणविक हमला गर्‍यो । कोरियाली प्रायद्वीपको विवादलाई लिएर अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध नै भयो । दुई देशका नेताले एक–अर्कालाई ध्वस्त पार्ने चेतावनी दिए । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रहको बेवास्ता गर्दै प्योङयाङले शृंखलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गर्‍यो । उत्तर कोरियाको आणविक कार्यक्रमको विरोधमा यो वर्ष राष्ट्रसंघले पटक–पटक ऊमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।

साढे ६ लाख रोहिंग्या देशनिकाला
यो वर्ष बर्माका अल्पसंख्यक रोहिंग्या मुसलमानले निकै कष्ट र यातना भोग्नुपर्‍यो । अगस्टको अन्तिम साता एक प्रहरी चौकीमा १२ प्रहरीको हत्यापछि रोहिंग्याविरुद्धको सैनिक दमनमा झन्डै सात हजार रोहिंग्याको हत्या भएको छ । सैनिक दमनपछि अहिलेसम्म साढे ६ लाख रोहिंग्या देश छोडर बंगलादेशमा शरण लिइरहेका छन् । रोहिंग्यामाथि बर्मा सरकारको रबैयाका कारण बर्माकी नेतृ आङ सान सुकी विवादमा तानिएकी छिन् । रोहिंग्यामाथि सरकारले दमन गरेको भन्दै स्टेट काउन्सिलरसमेत रहेकी सुकीको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ । कतिपय संघसंस्थाले उनलाई दिएको नोबेल शान्ति पुरस्कारको सम्मान खोस्नुपर्नेसमेत माग गरेका छन् ।

अमेरिकामा ६ मुस्लिम राष्ट्रका नागरिकलाई प्रतिबन्ध
राष्ट्रपतिमा निर्वाचित भएको केही महिनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य भएका ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कानुनको घोषणा गरे । राष्ट्रपतिको आदेशको विभिन्न मुस्लिम देशले विरोध गरेका छन् । राष्ट्रपतिको आदेशलाई संघीय र स्थानीय अदालतहरूले उल्टाइदिए पनि एक महिनाअघि अमेरिकाको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले चाद, इरान, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

अमेरिकी निर्वाचनमा रसियाली संलग्नता
अमेरिकाको राष्ट्रपति निर्वाचनमा रसियाको संलग्नतालाई लिएर डेमोक्र्याटिक पार्टीले वर्षभरि नै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्‍यो । रसियाली हस्तक्षेपको विषय अमेरिकाको सिनेट समितिसम्म पुग्यो र राष्ट्रपति ट्रम्पका जेठा छोराले स्पष्टीकरण नै दिनुपर्‍यो । निर्वाचनका समयमा जुनियर ट्रम्पले रसियाली वकिलसँग डिल गरेको रहस्योद्घाटन भयो । नयाँ खुलासाले पुटिन र ट्रम्पबीचको सम्बन्धमा कुनै असर नगरे पनि आमअमेरिकीले रसियालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको थियो ।

स्पेनबाट क्याटालोनिया अलग
सन् २०१७ स्पेनका लागि निकै दुःखद वर्ष रह्यो । क्याटालोनिया राज्यलाई स्पेनबाट अलग गर्ने विषयमा अक्टोबरमा भएको जनमतसंग्रहमा ९० प्रतिशत क्याटालोनियाले अलग हुने पक्षमा मतदान गरे । जनमतसंग्रहपछि विखण्डनकारी नेताहरूले क्याटालोनिया अलग भएको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेको छ । केन्द्र सरकारले क्याटालोनियाका दर्जनौँ विखण्डनकारी नेताविरुद्ध देशद्रोहको आरोपमा मुद्दा चलाएको छ ।

राहुल निर्विरोध पार्टी अध्यक्ष
यसै वर्षको अन्त्यतिर भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसको नेतृत्व दुई दशकपछि नयाँ पुस्तामा हस्तान्तरण भएको छ । विगत १९ वर्षदेखि पार्टी अध्यक्ष रहेकी सोनिया गान्धीले उपाध्यक्ष राहुल गान्धीलाई नै अध्यक्ष बनाएको विषयले भारतको राजनीतिक सरगर्मी बढेको छ । ४७ वर्षीय राहुलबाहेक अन्य कसैले अध्यक्षमा उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । राहुल पार्टी अध्यक्षमा निर्वाचित भएसँगै भारतीय कंग्रेसमा उनको समर्थन र विरोध देखिएको छ । आगामी दिनमा कंग्रेसलाई थप सशक्त ढंगले अगाडि बढाउने राहुलले बाचा गरेका छन् ।

पार्क गियुन हाय अपदस्थ
यो वर्ष दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हायका लागि अभीशप्त रह्यो । आर्थिक अनियमितताको आरोपमा दक्षिण कोरियाको संसद्ले पार्कमाथि महाअभियोग लगाई पदमुक्त ग¥यो । अदालतले दोषी ठहर गरेपछि ६५ वर्षीया पार्कलाई प्रहरीले केही महिनाअघि नियन्त्रणमा लिई राजधानी सिउलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखेको थियो । अहिले उनी धरौटीमा रिहा भएकी छिन् । पार्कविरुद्ध अदालतमा सुनुवाइ भइरहेको छ । पार्क पदच्युत भएपछि दक्षिण कोरियामा मुन जाय इन नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुनले उत्तर कोरियासँग शान्तिवार्ता गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

मुगाबे युगको अन्त्य
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको ३७ वर्षे एकछत्र शासनकाल पनि सन् २०१७ मा नै समाप्त भयो । ४१ वर्ष कान्छी पत्नी ग्रेसा मुगाबेलाई आफ्नो उत्तराधिकारी बनाउने तयारी गरेका मुगाबे सेनाले ‘कु’ गरेपछि राजीनामा दिन बाध्य भए । ९३ वर्षीय मुगाबेविरुद्ध संसद्मा महाअभियोग लगाउने तयारी भइरहेका वेला उनले राजीनामा दिएका थिए । सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि एकछत्र शासन गरेका उनको राजीनामासँगै जिम्बाबेमा मुगाबे युगको अन्त्य भएको छ । उनको राजीनामापछि सेनाको समर्थनमा पूर्वउपराष्ट्रपति इमर्सन मनङ्वा जिम्बाबेको नयाँ राष्ट्रपति बनेका छन् ।

मर्केल चौथोपटक चान्सलरमा निर्वाचित
जर्मन चान्सलर एन्जेला मर्केल सन् २०१७ मा चर्चाको शिखरमा रहिन् । गएको सेप्टेम्बर महिनामा भएको निर्वाचनबाट मर्केल चौथोपटक जर्मन चान्सलरमा निर्वाचित हुन सफल भएसँगै उनको वर्षभरि नै चर्चा रह्यो । शरणार्थी र आप्रवासी नीतिप्रति नरम मर्केल युरोपकै साझा नेतृ मानिन्छिन्।

सरिफको पतन
पाकिस्तानलाई दक्षिण एसियाकै सशक्त मुलुक बनाउने उद्घोषका साथ चार वर्षअघि सत्ता सम्हालेका नवाज सरिफ सन् २०१७ मा त्यहाँको अदालतद्वारा भ्रष्टाचारी ठहरिए । कर ठगी गर्नेका लागि स्वर्ग मानिने पानामास्थित अफसोर कम्पनीमा गैरकानुनी तरिकाले सम्पत्ति लुकाएको अदालतले अभियोग लगाएको छ । पाकिस्तानको ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’का मालिकसमेत रहेका सरिफमाथि पदीय दुरुपयोग गरी आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी सम्पत्तिको हिनामिनाको आरोप लागेको छ । उनीमाथिको सुनुवाइ अहिले पनि जारी
छ ।

चीनमा सी युगको सुरुवात
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई पार्टीको विधानमा माओत्सेतुङसरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सीको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको विचार’ भन्ने नारा समाविष्ट गरेको छ । चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिस्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ । यसले चीनको तेस्रो युग सुरु भएको व्याख्या गरिएको छ । गत अक्टोबरको दोस्रो हप्ता सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ कंग्रेसले राष्ट्रपति सीलाई थप शक्तिशाली बनाएको छ ।

कतारसँग खाडी देशको सम्बन्धविच्छेद
कतारले अतिवादलाई सहयोग पुर्‍याएको र इरानसँग हिमचिम बढाएको आरोप लगाउँदै साउदी अरेबियासहित केही मुलुकले कतारसँग गएको जुन ५ मा कूटनीतिक सम्बन्ध तोडेका छन् । आफूमाथिको आरोप कतारले अस्वीकार गर्दै आएको छ । अतिवादी समूह आइएसलाई सहयोग गरेको, इरानसँग गहिरो साँठगाँठ गरेको आरोप लगाउँदै खाडी राष्ट्रहरू इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र« माल्दिभ्ससमेत सातवटा मुलुकले कतारसँग दौत्य सम्बन्ध विच्छेद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्