एक्स्पोले हामीलाई उत्साहित बनाएको छ, आगामी दिनमा यसलाई निरन्तरता दिन्छौँ



डुआन सुहेङ, चीन–दक्षिण एशिया एक्स्पो आयोजक २०७४-०७-१९

सन् २०१३ देखि चीनको युन्नान प्रान्तको कुनमिङ शहरमा आयोजना हुँदै आएको चीन–दक्षिण एशिया एक्स्पो यसपटक काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको छ । यही अक्टोबर २ देखि ५ तारिखसम्म आयोजना गएिको सो एक्स्पोमा ४१ चिनीयाँ कम्पनीहरुको सहभागिता रहेको थियो । दक्षिण एशियाका बंगलादेश र पाकिस्तानका केही कम्पनीहरुले भाग लिए पनि भारतले भने यस एक्स्पोमा सहभागिता जनाएको देखिएन । एक्स्पो समापनको अवसर पारेर उक्त एक्स्पोका सञ्चालक समूहका सदस्य डुआन सुहेङसँग परिवर्तन खबर समूहले गरेको कुराकानीको सार संक्षेप ।

तपाईंहरुले पहिलो पटक चीनबाहिर चीन–दक्षिण एशिया एक्स्पो आयोजना गर्नुभयो, त्यसमा पनि काठमाडौँमै पहिलो पटक आयोजना गर्नुभयो । यो आयोजना गर्नुको मुख्य उद्देश्य के थियो ?

हामीले सन् २०१३ देखि नै चीन–दक्षिण एशिया एक्स्पो आयोजना गर्दै आइरहेका थियौँ । विगत वर्षहरुमा यस्तो एक्स्पो कुनमिङमै आयोजना गरियो । यस पटक भने यहाँ आयोजना गर्ने निर्णय भएकाले यहाँ आयोजना गरिएको हो । यसको मुख्य उद्देश्य चिनीयाँ संस्कृतिको परिचय दिनु र चिनीयाँ प्रविधि र उत्पादनबारे यहाँका उपभोक्ता, व्यवसायी र उद्यमीहरुलाई परिचित गराउनु हो । त्यसैले हामीले यस एक्स्पोमा उत्पादनको प्रदर्शनी मात्र गरेनौँ, चिनीयाँ संगीत र कला पनि प्रदर्शन गर्यौँ । यहाँ लगानी गर्न चाहने चिनीयाँहरु र नेपालीहरुबीच सहयोगी भूमिका निर्वाह गर्ने व्यावसायिक कम्पनीहरुबीच सहकार्य हुनसक्ने क्षेत्र चिनाउने र सहजीकरण गर्ने कम्पनीलाई पनि सहभागी गराएका थियौँ ।

समग्रमा कस्तो रेस्पोन्स पाउनुभयो अवलोकनकर्ता, व्यवसायी र उद्यमीहरुको ?

समग्रमा हाम्रो अनुभव के रह्यो भने, नेपाली बजार सानो छ, यहाँ पनि कतिपय बस्तुहरु उत्पादन भइरहेका छन् । उपभोक्ताहरुले जे उपलब्ध हुन्छ त्यही उपभोग गर्ने हो । चिनीयाँ उपभोक्ता र नेपाली उपभोक्ताहरुको स्वाद र चाहना फरकफरक छ तर भावनामा हामी नजिक छौँ । कतिपय उपभोग्य बस्तुहरु नेपाली र चिनीयाँहरु समान रुपले मन पराउँदा रहेछन् । खासगरी चिया, घरायसी सामानहरु, मोटरसाइकल आदिमा चिनीयाँ र नेपालीको चाहना मिल्दो रहेछ । अर्को कुरा नेपालीहरु साह्रै विनम्र र सहृदयी पाएँ मैले । यो मलाई साह्रै मन पर्यो । त्यति धेरै सामानको व्यापार त भएन तर चासो र सोधखोज गर्ने, अवलोकनमा आएर ध्यान दिएर हेर्ने र बुझ्ने अवलोकनकर्ताहरु भने धेरै थिए । समग्रमा हाम्रो उद्देश्यमा हामी सफल भएका छौँ ।

कुनै खास व्यावसायिक विषयमा सहकार्य र सम्झौताहरु पनि भए कि ?

हामी प्रदर्शनी आयोजक मात्र हौँ । व्यवसायीहरु एकापसमा भेटघाट गरेर केही सहकार्य र सहमती पनि भएको हामीले थाहा पाएका छौँ । यो प्रथम प्रयास हो । यसले निरन्तरता पाउन सक्यो भने आगामी दिनमा अझ बढी सहकार्य बढ्नेछ भन्ने आशा गरेका छौँ ।

नेपालीहरु पनि कुनमिङमा हुने एक्स्पोमा सहभागी हुने गरिरहन्थे, यस पटक चाहिँ तपाईंहरुले यहीँ आएर बुझ्ने मौका पाउनुभयो । कस्तो रह्यो उहाँ हेर्दा र यहाँ अनुभव गर्दाको नेपाली व्यवसायी, नेपाली उत्पादन अनि नेपाली बजारको अनुभव ?

नेपालीहरु उहाँको प्रदर्शनीमा जाँदा मूलतः ह्यान्डीक्रफ्टहरु लैजानुहुन्थ्यो । हामीलाई ती उत्पादनहरु निकै राम्रो लाग्थ्यो । तर यहाँ आएर बुझ्दा त नेपालमा अरु उत्पादन पनि हुँदो रहेछ किन नलगेको होला भन्ने लागेको छ । खासगरी उपभोग्य बस्तुहरुमा नेपाली र चिनीयाँहरुको चाहना मिल्छ, ती बस्तुहरु प्रवद्र्धन गर्न सकिने देखियो दुवै देशमा ।

यस्ता एक्स्पो आयोजना गर्नका लागि नेपाल सरकार, नेपाली व्यवसायी र सरकारी निकायको सहयोग कस्तो रह्यो ?

हाम्रो संस्था यस्ता प्रदर्शनी आयोजन गरिरहेको अनुभवी संस्था नै हो । त्यसैले यो आयोजना गर्न आवश्यक पर्ने पूर्व तयारी राम्ररी नै गरेका थियौँ । यो आयोजना हामीले मात्र गरेका होइनौँ । यसमा युन्नान सरकार, चीन सरकार र नेपाल सरकारको संयुक्त सहयोगमा गरिएको हो । त्यसले गर्दा पनि हामीलाई कुनै अप्ठ्यारो परेन । यो प्रदर्शनीस्थलको बुकिङ लगायतका कुराहरुमा यहाँका केही व्यावसायी साथीहरुले सहयोग गर्नुभयो । सरकारसँगको समन्वयमा पनि नेपाली व्यावसायीहरुको सहकार्य रह्यो । यसले गर्दा हामीले कुनै खासै त्यस्तो झन्झट बेहोर्नु परेन । सजिलै एक्स्पो सम्पन्न भयो ।

अब अलि फरक कुरा गरौँ, चीन अब ‘सि जिनपिङ युग’मा प्रवेश गर्दै छ । यो अवधारणापछि नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध र व्यवसायिक कारोवारमा कुनै नयाँ सम्भावनाहरु पनि देखा पर्नसक्छन् ?

हामी मूलतः एक्स्पो आयोजक हौँ । यो राजनीतिक र दुई देशबीचको कुरा भयो । निश्चय नै यसले नयाँ सम्भावनाहरु ल्याउन सक्छ तर म यसमा बढी चर्चा गर्न चाहन्न । यसका जानकारहरु अरुअरु हुनुहुन्छ । तर मलाई के लाग्छ भने नेपाल र चीनबीचको व्यापारिक र व्यवसायिक सम्बन्धमा जुनसुकै अवधारण आए पनि मित्रता र सहकार्य अनि सहयोग निरन्तर जारी नै रहनेछ । यसबारे विभिन्न सञ्चार माध्यमहरुबाट धेरै कुरा आइ पनि सकेका छन् । तपाईंहरु जस्ता पत्रकारलाई  मैले  भनिरहनु पर्ने जस्तो लाग्दैन । यसबारे अरु कुनैबेला कुरा गर्न सक्नुहुनेछ ।

यस्ता प्रदर्शनीहरु आयोजना गर्दा नेपालले सुधार गर्नुपर्ने केही कुरा देख्नुहुन्छ ? केही सुझाव दिन चाहनुहुन्छ कि !

हामीले नेपालीहरुबाट धेरै माया पायौँ । चासो राखिदिनुभयो । त्यसमा खुशी छौँ । तर भाषाको समस्या धेरै रह्यो । सजिलोसँग चिनीयाँ भाषा बुझ्ने नेपालीहरु साह्रै कम हुनुहुँदो रहेछ । यसले गर्दा हामीलाई कतिपय कुरा संचार गर्न पनि असजिलो भयो । मलाई लाग्छ, अब नेपालीहरुले पनि चिनीयाँ भाषा सिक्नुपर्छ । यसो भयो भने हामी सजिलोसँग कुरा गर्न सक्छौँ । एकअर्कालाई बुझाउन सक्छौँ । भाषाको कठिनाई हामीले यस पटक निकै झेल्यौँ । आशा छ आगामी दिनमा धेरै नेपालीहरुले चिनीयाँ भाषा सिकेर यो समस्यामा कमी ल्याउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्