बौद्ध–६ मा निःशुल्क स्वास्थ्य शिविर



परिवर्तन खबर, काठमाडौँ ।

काठमाडौँ, १० मंसिर: नाम्ग्याल रिन्पोछे फाउन्डेसन नेपाल बौद्ध –६, काठमाडौं नेपाल र लायन्स क्लब चावहिलको संयुक्त पहलमा कोरियामा रहेको दाना दक्षिण कोरिया संस्थाको संयोजकत्वमा दोङ्गुक युनिभर्सिटीका विशेषज्ञ चिकित्सकहरू तथा नेपाली विशेषज्ञ चिकित्सकहरूद्वारा बौद्ध–६, तिनचुलीमा निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम २०७४ आयोजना गरेको थियो । उक्त कार्यक्रम मंसिर ९ र १० गते दुई दिने रहेको थियो। विशेषगरी स्त्रीरोग, बालरोग, हाडजोर्नी र सामान्य चिकित्सा सेवाहरू यस क्याम्पको मुख्य उद्देश्य रहेको थियो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिइएको थियो ।

उक्त शिविरमा दक्षिण ललितपुरदेखि ६ घण्टाको बाटो हुँदै २३० जना बिरामीहरू आएको कुरा दाना दोङ्गगुक युनिभर्सिटी नेपालका स्टाफ दावा लामाले बताएका छन् । कोरियाबाट ४ जना चिकित्सकहरू र नेपालको १ स्त्रीरोग विशेषज्ञसहित ५ जना डाक्टरले सेवा दिइरहेका थिए। लामाका अनुसार ९ गते ३६६ जना र १० गते अन्दाजी ४०० जनाले सेवा  लिएको  बताए ।

आउँदो दिनमा पनि यसैगरी निःशुल्क सेवा दिन इच्छुक रहेको र आँखा परीक्षणको माग बढी आएकोले भविष्यमा उक्त शिविर पनि चलाउने लक्ष्य रहेको दावाले बताए । आउँदो १३ र १४ गते सिन्धुपाल्चोक जिल्लाको मुढेमा यस्तै शिविर चलाउन लागिएको कुरा पनि उनले बताए ।


तस्विर : मेघराज पहाडी

प्रतिक्रिया दिनुहोस्