कान्ति फलोअपः अस्पताल प्रशासनको प्रयास र प्रतिबद्धता 



परिवर्तन खबर, काठमाडौँ  ।

काठमाडौँ, कार्तिक १३ । कान्ति बाल अस्पतालको सरसफाइ र व्यवस्थापन सुधारबारे परिवर्तन खबरमा समाचार प्रकाशनपछि अस्पताल प्रशासनले सुधारका प्रयास निरन्तर अघि बढाएको कुरा निर्देशक डा. गणेश राईले बताउनुभएको छ ।
आज परिवर्तन खबर र अस्पताल प्रशासनबीचको अन्तरक्रियामा प्रगतिबारे जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘अस्पतालको उन्नति सबैको चिन्ता र चासोको बिषय हो । यसमा सञ्चार क्षेत्रले समेत सहयोग गरेर हामीलाई उत्साहित बनाउँदा खुशी लागेको छ । मैले अस्पतालको पानी, फेहरमैला व्यवस्थापन, सरसफाइ र आन्तरिक समन्वयलाई कसरी सुधार गर्न सकिन्छ भनेर माथिल्ला निकायहरु र अस्पताल विकास समिति दुवैसँग समन्वयमा रहेर काम गरिरहेको छु । तपाईंहरुको चासोले हामीलाई यसमा थप काम गर्न उत्साहित बनाएको छ ।’
आजको छलफलमा मूलतः जनशक्ति व्यवस्थापन र आन्तरिक समन्वयमा भएका सुधार तथा आगामी दिनमा गर्नुपर्ने सुधारबारे केन्द्रित रहेको थियो । अस्पतालको सुरक्षा, सरसफाइ, हाउस किपिङ र नर्सिङ विभागका प्रमुखहरुसमेत सहभागी हुनुभएको थियो ।

कर्मचारीसँग सम्बद्ध विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरुसमेतको सहभागिता रहेको आजको छलफलमा सहभागी सबैले आन्तरिक समन्वय नमिलेको बताएपछि सरसफाइको सम्पूर्ण जिम्मेवारी हाउसकिपिङ विभागलाई दिने र त्यसको अनुगमन र रेखदेख पनि सोही विभागले गर्ने समेत निर्णय गरिएको थियो ।
परिवर्तन खबर समूहको सरसल्लाहअनुसार हाल सफाइ गर्ने कर्मचारीको नाम र समयसहितको विवरण वार्डैपिच्छे टाँस गर्ने गरिएको पाइएको छ । सरसफाइमा केही मात्रामा सुधार देखिएको छ । रात्रीकालीन सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ ।
आज भएको छलफल कार्यक्रमको अन्तमा अस्पताल विकास समिति र अन्य सरोकारवाला निकायहरुको आवश्यक समन्वय गरी स्रोतको खोजी गर्ने र अस्पतालले व्यहोरिरहेका समस्याहरु समाधान गर्न एक उच्चस्तरीय समिति बनाई काम  गर्ने बारेमा आगामी हप्तासम्म अस्पताल प्रशासनले कार्य अघि बढाउने प्रतिबद्धता  जनाएको छ ।

परिवर्तन समूह कान्ति बाल अस्पतालको छलफलमा

प्रतिक्रिया दिनुहोस्