महिलाको नेतृत्व क्षमता विकास नगरी कुनै पनि समाज विकसित भएको छैन



रजनी प्रधान

परिवर्तन खबर, काठमाडौँ २८ असोज : गैर आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलन काठमाडौँमा शुरु भएको छ । आगामी दुई वर्षको लागि नेतृत्व चयन गर्ने भएकाले उम्मेदवारी घोषणा गर्ने र प्रचारप्रसार गर्ने काम शुरु भएको छ ।

यसपटकको सम्मेलनले महिला, युवा र दोस्रो पुस्तालाई प्राथमिकतामा राखेर आफ्नो नारा तय गरेको छ । किन यसो गर्नुपर्यो त ? यसै सेरोफेरोमा रहेर परिवर्तन खबर डक कमले महिला संयोजककी उम्मेदवार रजनी प्रधानसँग गरेको कुराकानीको मूल अंशः

यसपटक एनआएनले आफ्नो मूल नारा नै महिला, युवा र दोस्रो पुस्तालाई केन्द्रित गरेर तय गरेको छ । किन यसो गर्नुपर्यो ?
म एनआरएनको संस्थापना कालदेखि नै यसमा लागेकी छु । हाम्रो पुस्ता लागिरहेकै छ । तर हाम्रा छोराछोरीहरुलाई त यी सबै कुरा थाहा छैन । एनआरएन किन चाहियो भन्ने उनीहरुले बुझेका छैनन् । यो बुझाउन आवश्यक छ । अर्को कुरा अबको युग युवाहरुको युग हो । संसारभर युवाहरुको नेतृत्व स्थापित हुँदै गएको छ । जहाँसम्म महिलाको कुरा छ महिलाको नेतृत्व क्षमता विकास नगरी कुनै पनि समाज विकसित भएको छैन । त्यसैले महिलालाई मूल प्रवाहमा ल्याउन आवश्यक छ । त्यसैगरी हामीले युवालाई पनि स्थापित गर्दै जानुपर्छ । यसो गर्न सकिएन भने भोलि नेतृत्वको समस्या पर्नसक्छ । यही सोच राखेर यसपटकको नारामा नै महिला, युवा र दोस्रो पुस्ता समावेश गरिएको छ ।

तपाईंले भनेझैँ यस पटकको सम्मेलनले महिला, युवा र दोस्रो पुस्तालाई केन्द्रित त गरेको छ तर केही खास कार्यक्रमहरु पनि छन् कि ? 
अवश्य छन् । अहिले महिलालक्षित स्वास्थ्य र आयआर्जनका कार्यक्रमहरु चलिरहेका छन् । महिला तस्करीविरुद्ध काम गर्ने संस्थाहरुलाई सहयोग गरेर कार्यक्रम संचालन गरिएको छ । महिलाको पाठेघर खस्ने समस्या निराकरण गर्न सहयोग गरिरहेका छौँ । अहिले युवाहरुको पलायन डरलाग्दो छ । के पुरुष के महिला दुवै पलायन भएका छन् । यसलाई नरोकी अब हामीले प्रगति गर्न गाह्रो छ । यसमा हामी केही काम गरिहेका छौँ, अब अझै बढाउँछौँ । जहाँसम्म हामीले कसरी यी कार्य अघि बढाइरहेका छौँ भन्ने तपाईंको प्रश्न छ, अहिले हामीले युरोपभर एक महिला एक युरो कार्यक्रम चलाइरहेका छौँ । यसबाट निकै रकम जम्मा गर्न सफल भएका छौँ । यो महिलाहरुको मात्रै कार्यक्रम छ अहिले । यसलाई अब पुरुषहरुले पनि साथ दिनुस् भनेका छौँ ।

के हो यो एक युरो एक व्यक्ति कार्यक्रम ?
विदेशमा बस्ने महिलाहरुले एक महिनामा एक युरो नेपालमा बस्ने महिलाहरुका लागि सहयोग गरौँ भनेर सहयोग उठाएका छौँ । अहिले महिलाहरुले मात्र दिनुभएको छ । अब पुरुषलाई पनि सामेल गराउँदै छौँ । म महिला कोअर्डिनेटरमा निर्वाचित भएँ भने यसलाई अझ व्यापक रुपले अघि बढाउने छु ।

केही समयअघि भवन भट्ट यहाँहरुको अध्यक्ष बन्ने सुनिएको थियो । तर अहिले त तीनजना उम्मेदवारहरु अध्यक्ष बन्ने प्रतिस्पर्धामा हुनुहुन्छ । यो प्रतिस्पर्धा कसरी बढ्ला ? के अब यहाँहरु पनि प्यानल बनाएरै चुनावमा जानुहुन्छ ?
हामी त्यस्तो चाहँदैनौँ । इच्छा त सबैले राखेका हुन सक्छन् तर सबैलाई त पद पुग्न सक्दैन नि ! जहिले पनि हामी मिलेर गएका छौँ, मलाई लाग्छ यस पटक पनि मिलेर नै जान्छौँ । तर कथंकदाचित् चुनाव भइहाल्यो भने पनि त्यो हाँसीखुशी हुनेछ । प्यानल बनाएर असर पार्ने अवस्था नआउला ।

नेपालको राजनीतिक ध्रुवीकरणले त असर गरेको होइन ? 
त्यसो नहोला । यो हल्ला त हुन्छ तर हामी जहिले पनि राजनीति निरपेक्ष भएर संस्था संचालन हुनुपर्छ भन्ने पक्षमा छौँ । देशभित्रको राजनीतिक धु्रवीकरणले असर गरेको हल्ला मैले पनि सुनेँ तर त्यो हल्लामा कुनै आधार छैन । यहाँको राजनीतिबाट हामी प्रभावित भएर विभाजित हुनुपर्ने के कारण छ र ? त्यो निराधार हो भन्ने मलाई लाग्छ । जहाँसम्म प्रतिस्पर्धाको कुरा छ चाहना राख्न त पाइयो नि ! सबै अनुभवी व्यक्तिहरु प्रतिस्पर्धामा हुनुहुन्छ । जसले जिते पनि गैर आवासीय नेपालीहरुकै लागि काम गर्ने हो । मलाई के लाग्छ भने सम्मेलनको अन्त्यसम्म उहाँहरु मिलेर जानुहुन्छ । संस्थालाई नै गुटमा विभाजन गर्नेगरी अगाडि बढ्नुहुन्न होलाजस्तो लाग्छ । यसमा म विश्वस्त छु ।

अन्तमा, आफ्ना सहयोगी मतदाताहरुलाई केही भन्न चाहनुहुन्छ ? 
म सबै सहभागी मतदाता साथीहरुसमक्ष विनम्र अनुरोध गर्न चाहन्छु कि हामी यस संस्थालाई गुटमा होइन समन्वय र सहकार्यका आधारमा सञ्चालन गरौँ । प्यानल नै बनाएर संस्थाभित्र गुटको रेखा नकोरौँ । भावना मिल्यो भने पालो सबैको आउँछ कसैले पर्खौं, कसैलाई अवसर दिऊँ । म महिला उपसंयोजक भएर दुई कार्यकाल काम गरिसकेँ, यसपटक संयोजकको रुपमा उम्मेदवार भएकी छु । आशा छ साथीहरुले मलाई यो पदको लागि योग्य सम्झनुहुनेछ र मलाई विजयी बनाउनुहुनेछ । म सबै साथीहरुसँग सहयोग र सहकार्यका लागि हार्दिक आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्