सीप सिकेर स्वरोजगार बन्दै मुक्त कमैया



परिवर्तन खबर, काठमाडौं

सुन्दरी चौधरीले आफ्नो पनि पक्की घर बनाउन सकिएला भनेर कहिल्यै सोचेकी थिइनन् । अर्काको घरमा कमैया बसेर जीविका चलाउँदै आएकी उनको परिवार अहिले स्वरोजगार बनेको छ । उनलाई यो हैसियतमा पुर्याएको हो स्वरोजगार बन्ने सीपले । आर्थिक समस्याकै कारण विद्यालय पठाउनसक्ने अवस्थामा चौधरीका चार छोराछोरी अहिले पढ्न जान थालेका छन् ।

कमैयामुक्तिपछिको स्वतन्त्र जीवनपछि सिकेको सीपले उनको परिवारलाई अहिले पक्की घर बनाएर बस्ने हैसियतमा पुर्याइदिएको छ । कमैया बस्दाको समयमा केवल खेती सम्बन्धी काम सिकेका सुन्दरी र उनको श्रीमान् नरेशले हाल डकर्मी काम गरेर मनग्य आम्दानी गरिरहेका छन् । पतिको कामलाई सघाउँदै सुन्दरी पनि डकर्मीको काम सिक्दै सिक्दै छिन् ।

केही वर्ष अघिसम्म कमैया बनेर बसेका उनीहरू डकर्मीको काम गरेरै आफ्नो पक्की घर समेत निर्माण गरिरहेका छन् । ‘एउटा ठाउँमा घरको काम नसकिदै अर्को घरको लागि बोलाउन आउने गरेका छन्,’ सुन्दरीले भनिन् ‘अहिले काम भ्याइ नभ्याइ छ ।’ आर्थिक आर्जन पनि राम्रै भएको छ ।

कैलालीको चौमालाका एक किसानको घरमा कमैयाको रुपमा विगतमा काम गरेका सुन्दरीको परिवार मुिक्तपछि धनगढीको पुरानो हवाई मैदानमा बसेका अन्य मुक्तकमैया परिवारसँगै अलग कच्ची घर बनाएर बसेको छन् ।

धनगढीको पुरानो हवाई मैदानमा बसेका मुक्तकमैयालाई पुनःस्थापना जिल्ला समितिले प्रति परिवार पाँच धुर जग्गा उपलब्ध गराउने पहल थालेको छ । सोही ठाउँमा जग्गा पाइने विश्वासमा सुन्दरीसहितका पूर्वकमैया परिवार अहिले आफ्नो पक्की घर निर्माणमा लागेका छन् ।

पुरानो हवाई मैदानमा झण्डै ५० मुक्तकमैया परिवारको बसोवास छ । मुक्तिपछिका दिनमा स्वरोजगारमूलक काम सिकेर त्यसको उपयोग गर्दा भएको आम्दानीले पूर्व कमैयालाई जीविकोपार्जन गर्न सहज भएको हो ।

अर्का मुक्तकमैया गोपाल चौधरी किस्तामा विद्युतीय रिक्सा खरिद गरेर व्यवसाय गर्दै आएका छन् । उनले चार लाखमा रिक्सा किनेर व्यवसाय गरिरहेका छन् । रिक्सा व्यवसायबाट भएको कमाइबाट उहाँले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनुभएको छ । मुक्तिपछि पूर्वकमैयालाई पुनःस्थापना गराउने क्रममा जिल्ला भूमिसुधार कार्यालयलगायतका सरकारी र गैरसरकारी संघ संस्थाले दिएको सीपको पूर्व कमैया अधिकांशले उपयोगमा ल्याउँदै कमाइ गर्न थालेका हुन् ।

भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले हालसम्म झण्डै चार हजार मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालिम दिइएकोमा करिब ७० प्रतिशतले आफ्नो सीपको व्यवहारिक सदुपयोग गरेको देखिएको बताए ।

मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बंगुरपालन, कुखुरापालन, तरकारीखेती लगायतका विषयमा तालिम दिने गरिएको छ । सीप सिकेपछि सिकर्मी डकर्मी सिलाइकटाइ सम्बन्धी कामको व्यवहारिक उपयोग गरेर पूर्व कमैयाले मनग्य आम्दानी गरिरहेको कठायतले बताए ।

कैलालीमा पहिचान भएका आठ हजार नौ सय मुक्तकमैया परिवारमध्ये अधिकांशलाई पुनःस्थापित गरिसकिएको छ । झण्डै छ सय परिवारलाई पुनःस्थापित गराउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्