पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका पुनः खुला



काठमाडौँ । गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका लामो समयपछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।

सम्पदा बचाउ अभियानकर्मीहरूको समूहले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगै रहेको सो ढोका खुला गर्न आग्रह गरेको थियो । अभियानकर्मी प्रकाश रायमाझीको नेतृत्वमा गरिएको उक्त अनुरोधपछि कोषले आजैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो ।

करिब एक दशकदेखि बन्द रहेको यो ढोका खुला भएपछि स्थानीयवासी तथा दर्शनार्थीलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ । अभियानकर्मीहरूले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा जथाभावी गतिविधि हुन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको रायमाझीले जानकारी दिनुभयो ।

सदस्य सचिव भुसाललाई अनुरोध गरेकै केही समयमै ढोका खुला भएको बताउँदै रायमाझीले यसअघि पशुपतिनाथ मूल मन्दिर परिसरभित्र रहेको फलामको रेलिङ हटाउन पनि आफूले भूमिका खेलेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्