
म्याग्दी । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको एक सय वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिर पित्तलको छाना जडान गरेर आकर्षक रूपमा पुनर्निर्माण गरिएको छ । सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा दोब्बर बढी आर्थिक सहयोग समुदायले जुटाउँदै मन्दिरलाई आधुनिक संरचनामा पुनर्स्थापना गरिएको हो ।
वडा अध्यक्ष उत्तम कर्माचार्यका अनुसार विसं १९३० मा स्थापना र १९८० को दशकमा निर्माण भएको मन्दिर गुठीयार तथा नगरपालिकाको करिब रु २० लाख २५ हजार लगानीमा पुनर्निर्माण भएको छ । “पुरानो संरचना हटाएर भक्तपुरे इँटा र बुट्टे काठ प्रयोग गरेर नयाँ मन्दिर बनाइएको छ । यसको छाना पित्तलले छाइएको छ,” उनले बताए । बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु छ लाख अनुदान उपलब्ध गराएको थियो, भने समुदायले त्यो भन्दा बढी रकम संकलन गरेका छन् ।
निर्माण समितिका सदस्य किशोर श्रेष्ठका अनुसार हालसम्म रु १९ लाख ९३ हजार ७९५ खर्च भइसकेको छ । रु १७ लाख ६९ हजार ९७४ आम्दानी भइसकेको र रु दुई लाख २३ हजार ८२१ भुक्तानी दिन बाँकी रहेको छ । मन्दिर वरपर स्थापना गरिएको दियोको खर्चसमेत जोड्दा कुल लागत रु २० लाख २५ हजार पुग्ने उनले जानकारी दिए ।
स्व. मोतिकुमार श्रेष्ठले स्थापित गरेको गुठीकै आधारमा उनका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारीसहित परिवार र आफन्तको उल्लेख्य योगदानमा पुनर्निर्माण कार्य सम्पन्न भएको हो । मन्दिरमा दैनिक नित्य पूजा हुन्छ भने गणेशचौथी र मङ्गलचौथीका दिन विशेष पूजा–आराधना गरिन्छ ।
पुनर्निर्माण सम्पन्न भएपछि यसै हप्ता गणेशको मूर्ति प्राण–प्रतिष्ठा गरी नियमित पूजाआजा सुरु गरिएको छ । यहाँ पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । बेनीबजारको प्राचीन धार्मिकस्थल मानिने यो मन्दिर हरेक वर्ष घण्टा कर्ण चतुर्थीदेखि हरितालिका तीजसम्म चल्ने बर्खे नाचको समापन स्थलसमेत हो । बेनी भ्रमणमा आउने पाहुना तथा पर्यटकका लागि गणेश मन्दिर र नजिकको बेनीकोत विशेष आकर्षणका रूपमा रहेको छन् ।





